
अजय कुमार झा-जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका लागि प्रधानमन्त्री सहित गठबन्धनका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाउनुभएको छ । प्रदेशको नामाकरण तथा राजधानी घोषणा भइसकेको भन्दै अस्थायी रुपमा प्रदेश सरकारलाई दिइएको संरचनालाई स्थायी रुपमा हस्तान्तरण गरिदिन मुख्यमन्त्री राउतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापनपत्र दिनुभएको छ ।
राजधानीको भौतिक संरचना निर्माणका लागि सम्भाव्यताको अध्ययन गर्न गठित समितिले प्रदेशको सरकारी संरचना रहेको जनकपुर चुरोट कारखाना परिसर अर्थात् मधेश भवन र प्रदेशसभा रहेको स्थान लगायतका स्थानमा स्थायी संरचना निर्माणका लागि सिफारिस गरिएकाले ती जग्गा प्रदेश सरकारको नाउमा हस्तान्तरण गर्न मुख्यमन्त्री राउतले ज्ञापनपत्र मार्फत अनुरोध गर्नुभएको छ । मुख्यमन्त्री राउतले जग्गा हस्तान्तरण गर्नुका साथै स्थायी भौतिक संरचनाका लागि चाहिने आर्थिक श्रोतको व्यवस्थापन गर्न पनि संघीय सरकारसँग माग गर्नुभएको छ ।
यस्तै मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी सङ्गठनको व्यवस्था गरेको तथा अनुसूची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षासम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार सूचीभित्र रहेकाले आगामी निर्वाचन अगावै प्रहरी समायोजन गरिदिन अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्रीसहित गठबन्धन दलभित्रका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, अर्थमन्त्री शैलेन्द्र साह, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, युवा, महिला, बालबालिका तथा खेलकुद मन्त्री विरेन्द्र सिंह, ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्मा र मुख्यन्यायाधिवक्ता झा दीपेन्द्र उपस्थित हुनुहुन्थ्यो ।