
जनकपुरधाम- जानकी मन्दिरका छोटे महन्त रामरोशन दास विरुद्ध सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ ।
दासले सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएर मन्दिरको श्रीसम्पत्ति हिनामिना गरेको भन्दै उजुरी परेको हो ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जनकपुरधाम उपमहानगरपालिका-२३ बस्ने वैजनाथ चौधरीले गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोद्धार्थ गरी साउन ४ गते नै निवेदन दिएको जानकारी दिए ।

सहायक प्रजिअ भण्डारीले भने, ‘सहायक महन्थ दासले सरकारी कागजको रूपमा आफ्नो नाममा मन्दिरको उत्तराधिकारी महन्तको किर्ते परिचयपत्र बनाई गुठी संस्थानको पनि किर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ ।’
निवेदन आए पनि त्यसमाथि छानबिन कहाँसम्म पुगेको बारे आफूलाई कुनै जानकारी नरहेको सहायक प्रजिअ भण्डारीले बताए।
यता, छोटे महन्थ दासले जानकी मन्दिरमा डेढ वर्षअघि नै गुठी संस्थानले आफूलाई बोर्डको बैठकबाटै औपचारिक रुपमा उत्तराधिकारी महन्थ नियुक्त गरेको दाबी गरेका छन् । उनले जानकी मन्दिरमा सुरुदेखि नै गुरु शिष्य परम्परा रहेको र सोही आधारमा महन्थ रामतपेश्वर दास वैष्णवले पनि आफूलाई उत्तराधिकारी महन्थ घोषणा गरिसकेको जनाए ।
दासले भने, ‘महन्थजीले पनि म बाहेक उनको अर्को कुनै उत्तराधिकारी नरहेको कुरा सञ्चारकर्मीहरु समक्ष नै बताइसक्नुभएकोछ । यस्तो अवस्थामा मैले किर्ते कागजात बनाएको भन्ने हल्ला कहाँबाट फैलाइयो । यो सरासर गलत हो । म आफैं आश्चर्यचकित छु ।’