
जनकपुरधाम - नेपाल भारतका सुरक्षा अधिकारीहरूको आज जनकपुरधाममा सम्पन्न भएको बैठकले सीमा क्षेत्रबाट हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्ने निर्णय गरेको छ ।
यसका साथै लागु औषधको कारोबार नियन्त्रण तथा भत्केका सीमा स्तम्भहरूको पुनर्निर्माण गर्ने विषयमा छलफल भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।
नियमित रुपमा हुँदै आएको बैठकमा नेपाल भारतको सीमा क्षेत्रमा भएका अन्य समस्याहरूको विषयमा पनि छलफल भएको छ। यसका साथै वर्षेनी हुने गरेको बाढीका विषयमा पनि कुरा उठेको छ ।
बैठकको नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए भने भारतीय पक्षको नेतृत्व मधुबन्नीका डी एम अरविन्द कुमार बर्माले गरेका थिए ।
बैठकमा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो ।
भारतीय पक्षबाट मधुबन्नीका प्रहरी प्रमुख तथा अन्य सरकारी निकायका अधिकारीहरू उपस्थित रहेको थियो ।