महोत्तरी - महोत्तरी लगायत तराई मधेश क्षेत्रमा अहिले राखी बन्धन अर्थात (रक्षाबन्धन) पर्वको रौनक छाएको छ ।
साउन शुक्लपक्षमा शुरु हुनाका साथै तराई मधेश क्षेत्रका बजार र गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइ बीच प्रेम दर्शाउने खालका गीतको धुन लगातार बजी रहेको छ।
सम्पूर्ण तराई मधेश क्षेत्रमा अहिले दाजुभाइको दिर्घायुको कामना सहितका बखान गरिएका माङ्गलिक गीतका मीठो धुन गुञ्जि रहेका छन् भने प्रत्येकजसो गाउँ नगरपालिका र बस्तीमा रङ्गीबिरङ्गी राखी बेच्न राखिएका छन् ।
दिदीबहिनीहरु आफ्ना दाजुभाइलाई रक्षा बन्धनको लागि निम्तो दिने र खोजीनिती गरिरहेका छन् ।

विवाह भएर गएका चेलीहरु मोबाइल फोन, चिट्ठीको र नेटका साधनबाट आफ्ना दाजुभाइ कहाँ छन् पत्ता लगाएर राखी बन्धनमा आउने निम्तो दिने क्रम चलिरहेको छ। त्यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बन्धनमा आउने निम्तो दिनमा तल्लीन छन् ।
दाजुभाइ प्रति देखाइने प्रेम र पर्वको पूर्व तयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न औरहीबजार पुगेकी औरहि २ की मंजु यादव बताउँछिन् । आउने शुक्रवारका दिन मनाइने यस पर्वका लागि अहिले सिङ्गो तराई मधेश क्षेत्रको दिदीबहिनी नै उत्साहित देखिन्छन् ।

मधेश क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् साँस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाताहरु बताउँछन् ।
बजारहाटमा आ–आफ्ना दाजुभाइलाई बाधिने राखी छनौट गर्न मिथिलानीहरुको चहलपहल ह्वात्तै बढेको औरहीबजारका एक श्रृंगार पसलेले जनाए ।
सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले बटुवालाई समेत द्रवित बनाउने गरेको औरहि उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण चौधरीले बताउँछन् । चेलीहरुले अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकार बारे योजना बनाउन थालेको छ ।
यता घरबाट कामविशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका छ्न भन्ने गरिएको टेलिफोन सम्वादले चेलीहरु खुशीले दङ्ग देखिन्छन् ।
‘‘भैया पञ्जाव स राखी पावैन के लेल ऐवाक् निश्चित भेल’’ (दाजु, राखी पर्वका लागि पञ्जाबबाट आउने निश्चित भयो) रामगोपालपुर नगरपालिका–५ की २५ वर्षीया मधु कुमारीले खुशी व्यक्त गर्दै भनिन्, ‘‘आब राखी के जोगार मे लगैछि’’ (अब राम्रो राखी किन्ने छु) ।

पर्व विशेषमा दाजुभाइ, दिदीबहिनीका लागि राखीको कारोवार गर्ने व्यापारी उत्तिकै व्यस्त देखिन्छन् । ग्राहकको रोजाइमा परेका राखीको डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीको भनाइ छ ।
पर्व शुक्रवार हुनका कारण रक्षाबन्धनका बिभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फूर्सत नभएको रामगोपालपुरबजारमा राखी बिक्री गर्दै आएका अरुण कुमार चौधरीले बताए ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाधिएको र युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको ऐश्वर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वासको धारणा छन् ।
पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहेपनि दिदीबहिनीले निम्तो गरेपछि दाजुभाइ राखी बाधन पुग्ने गर्नाले चेली र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत रहेको पर्वको विशिष्ट भूमिका हुने गरेको सरकारी सेवाबाट अवकाश लिएका औरही नगरपालिका २ का औरही बाशिन्दा ४७ वर्षीय दिनेश यादव बताउँछन् ।
पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजीकका नाता खोजेर राखी बँधाउने परम्पराले यो साँस्कृतिक पर्वको महत्ता झनै बढी भएको औरहीको एक मिथिलाबासी बताउँछन् ।
पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाक मार्फत पठाउने चलन पनि बाक्लै देखिन्छ । पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित धागो यजमानलाई बाँधी दिने परम्परा भए तापनि मिथिलामा भने मुख्य आकर्षण चाहिँ दिदीबहिनी कै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा तराई मधेश क्षेत्रका बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी साँस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीमा पनि बाक्लै प्रचलनमा आएको छ ।

पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफुले दाजुभाइ मानेकाहरुलाई राखी बाँधी दिन पर्वको तयारीमा लागि परेको देखिन्छन् । पछिल्ला दिनमा यो पर्व हिन्दू धर्मावलम्बीको मान्दै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाधने प्रचलन बढ्दै गएको छ।




