बर्दिवास- महोत्तरीको बर्दिवास नगरपालिकाले करारका शिक्षककाे म्याद नथपेर करार भंग गरेपछि आन्दोलनरत्त शिक्षकहरुले नगरपालिका घेराउ गरेका छन् ।
शिक्षकहरुले म्याद थपको माग गर्दै आईतवारदेखि आन्दोलनरत्त शिक्षकहरुले आज पाँचौदिन नगरपालिकाको कामकाज ठप्प पारेका हुन् ।
नगरपालिकाको मूल गेट घेराउ गरेर बिहानैदेखि कार्यालयभित्र जनप्रतिनिधी तथा कर्मचारीहरुलाई पस्न रोक लगाइएको आन्दोलनरत शिक्षक भिखारी दासले बताए ।
बर्दिवास नगरपालिकाका पूर्व मेयर विदुर कुमार कार्कीले गत वर्ष ६२ जना करारका शिक्षक भर्ना गरेका थिए । नव निर्वाचित मेयर प्रह्लाद कुमार क्षेत्रीले करार शिक्षकहरुको म्याद थप नगरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
साउन २० गते नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै करारका शिक्षकहरुलाई कामकाजमा नलगाउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई जानकारी गराएका थिए ।
यता, बर्दिवास नगरपालिकाका मेयर क्षेत्रीलाई ७८ जना करारका शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकोले नयाँ प्रक्रियाद्वारा आउन शिक्षकहरुलाई आग्रह गरेका छन् । मेयर क्षेत्रीले करारको म्याद समाप्त भएपश्चात म्याद थपको लागि निवेदन दिनु पर्ने त्यस्तो निवेदन नआएपछि करार स्वत: भंग भएकोले नयाँ विज्ञापन अनुसार विधि सम्मत ढंगबाट आउन सबै शिक्षकहरुलाई आग्रह गरेका हुन् ।
यता शिक्षकहरुले कार्यालयको कामकाज अवरुद्ध गरेपछि सुरक्षाको लागि इलाका प्रहरी कार्यालय बर्दिवासबाट नगरपालिकामा सुरक्षाकर्मी पुगेका छन् ।