धनुषा - मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मंत्री शत्रुधन महतोले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनुको विकल्प नरहेको बताएका छन् ।
उनले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नभइ फिर्ता भए देशभर जनविद्रोह हुने चेतावनी दिएका छन् । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुर स्थित लवकुश बजारमा शनिवार २७ औ लवकुश जन्मोत्सव तथा लवकुश मेलाको उद्घाटन समारोहमा मन्ंत्री महतोले भने–“नागरिकता संशोधन विधेयक फिर्ता भए जनविद्रोहको लागि जनताको साथ आवश्यक छ” ।
मंत्री महतोले भने– “नागरिकता संशोधन विधेयक प्रमाणीकरण भए ५० औं वर्षदेखि नागरिकता विहीन तराई मधेशसहित देशभरका यथार्थ नेपाली नागरिकहरुले नागरिकता पाउने बाटो खुला हुनेछ,”। नागरिकता दिने नाममा गलत व्यक्तिहरुलाई नागरिकता दिने पक्षमा भने हामी छैनौं, छानबिन गरी यथार्थ नागरिकहरुलाई सहज तरिकाले नागरिकता दिनुपर्छ भन्दै उनले नागरिकता नपाएर युवाहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनुको साथै अन्य राष्ट्रमा पलायन हुने अवस्थाको सृजना भएकाले राज्य पक्ष तत्कालै गंभीर हुनु आवश्यक छ बताए ।
नागरिकता नपाएर देशका होनहार युवाहरुको निराशाले जनविद्रोह हुने भएकाले तत्कालै दुवै सदनबाट पास भएको नागरिकता विद्येयक राष्ट्रपतिबाट रोकिनु उचित नहुने उनको भनाइ छ । कार्यक्रममा जसपाका केन्द्रीय नेता लक्ष्मी महतोले लवकुश विकास प्रतिष्ठानले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले कुशवाहा समुदायको मुख्य पेशमा खेती भएको उल्लेख गर्दै कृषिमा आधुनिकीरणको साथै शिक्षा क्षेत्रमा बढी जोड दिनुपर्ने बताए ।
कार्यक्रममा एस.ई.ई.धनुषा, महोत्तरी र सिरहा जिल्लामा ३.९६ जेपिए ल्याएर उत्कृष्ट भएकी रेखा कुमारी महतो र ३ं.०१ जेपिए ल्याएर उत्कृष्ट भएका अमरजित कुमार महतो, बटेश्वर गाउँपालिकाका निर्वाचित वडाध्यक्ष अशोक कुमार महतो, राममणी कुशवाहा, विजय महतो, मिथिला नगरपालिकाका वडाध्यक्षहरुमा विरेन्द्र कुमार महतो, रामचन्द्र महतो, क्षीरेश्वरनाथ नगरपालिका–८ का वडाध्यक्ष मोदकुमार महतो, धनगढीमाई नगरपालिका–१०, सर्लाहीका वडाध्यक्ष दिनेश कुमार महतो, लवकुश विकास प्रतिष्ठानका संस्थापक कर्मवीर महतो लगायतलाई सम्मान गरिएको थियो ।




