
वर्दिवास- महोत्तरीको वर्दिवासमा छोरा नभएको एक वृद्धको मृत्यु भएपश्चात दाहसंस्कारको लागि ५ लाख रुपैयाँ जातिय अगुवाले माग गरेको घटना सार्वजनिक भएको छ।
वर्दिवास नगरपालिका वडा नं. १४ छोरा नभएका एक वृद्धको मृत्युपछि जातिय भेलामा जातका माइजन (अगुवा) ले ५ लाख रुपैयाँ नदिए लास नउठ्ने बताए पछि मृत्यु भएको एक दिन एक रात लास उठ्न सकेन ।
२१औं शताब्दीमा एउटा कुनै पनि सभ्य समाजमा यस्तो किसिमको मानविय संवेदनाहिन यस्ता घटनाले लज्जित तुल्याउने काम गरेको छ।
त्यति मात्र हैन एक दिन पछि छोरीहरुले आफै मृतक वुवाको दाहसंस्कार गरे । त्यसपछि फेरि ती जातिय अगुवाले अब काजकिरिया भोजभात गर्नको लागि ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने माग राखेर पीडितलाई थप पीडा दिने काम गर्न थालेको छ।
पीडित परिवारजन संग त्यति ठूलो रकम खर्च गर्न नसक्ने आफै काजकिरिया भोजभातका गर्छौ भन्दा जातबाट निकाला गरिदिने, काजकिरियाको पुण्यतिथिमा जातका कसैलाई पनि सहभागी हुन नदिने भनेर धम्की दिएको पीडित परिवारले दुखेसो पोखेका छन् ।
विहे, जन्म तथा अन्य खुशीयालीको बेला यस्तो किसिमको सौदाबाजी हुने कुरा सामान्य लागेपनि मृत्युसंस्कारमा पनि यस्तो संवेदनहिन कुराको अगुवाई गर्नेमा मृतक वृद्धको आफ्नै ज्वाई हुन् । बर्दिबास स्थित सोनार जातिका ‘मान्यजन’ (जातीय अगुवा) इनरजित साह सोनार मृतकको आफ्नै ज्वाई हुन् । उनले नै यस्तो डिमाण्ड गरेर लासको सौदाबाजी गरेका हुन् ।
लामो समयदेखि पक्षघातको विरामी वर्दिवास १४ का ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते अपराह्न ४ बजे घर मै मृत्यु भएको थियो। दुई श्रीमति रहेका मृतकका छोरा छैन् ,आठ छोरी मात्र छन्। जेठी श्रीमती मनतोडिया तर्फ का पाँच छोरी र कान्छी श्रीमति फूलोदेवी तर्फका ३ छोरी छन् ।
मृतक फकिरा जेठी श्रीमतीको मृत्यु भएपछि कान्छी फूलोदेवीसँग बस्दै आएका थिए। जेठीपट्टिका सबै छोरीको बिहे भइसकेको छ भने कान्छी फूलोदेवीपट्टिकी माहिली रूपा र कान्छी सविता नाबालिग छन्।
छोरा नभएकै कारण दाहसंस्कारका लागि विवाद सुरु भयो। दागबत्ती पुरुषको हातबाटै दिइनुपर्ने पराम्परा अनुसार जातीय सभाको बैठक बस्यो । बर्दिबास स्थित सोनार जातिका ‘माइजन’ (अगुवा) इनरजित साह सोनार मृतक फकिरा कै जेठी श्रीमती तर्फका साँइली छोरीका श्रीमान् अर्थात् ज्वाईं हुन्।

इनरजित कै अगुवाईमा बसेको सभाले मृतककी जेठी श्रीमती (मनतोडिया)तर्फकी जेठी छोरीका छोरा अर्थात् मृतकका नाति शम्भु साहले दागबत्ती दिने र काजकिरिया उसैले गर्ने तय गर्यो । तर यसका रकम दिनु पर्ने शर्त राखियो । मृतककी कान्छी श्रीमतीले दागबत्ती बापत पाँच लाख रुपियाँ तिनुपर्ने जातिय सभाले निणर्य गर्दै “ सो रकम नदिए दाहसंस्कार पनि हुन नदिने र जातबाट पनि निकाल्ने धम्की दिए,” मृतककी कान्छी श्रीमती फूलोदेवीले रुँदै सुनाईन्, “मैले त्यत्रो पैसा म संग छैन , कहाँबाट ल्याएर दिनु ? खोजखाज गरेर ऋण सापट गरेर दुई लाखजति दिन्छु त भने तर मान्दै मानेनन्।”
त्यो दिन मागेजति रकम दिन नसकेपछि मृतकको दाहसंस्कार हुन सकेन। दोस्रो दिनमात्र अविवाहित छोरीले दागबत्ती दिएर आफैँ किरिया बसिन् ।
छिमेकी प्रत्यक्षदर्शी गीता श्रेष्ठ र सीता नेपाल भन्छन् , “त्यो रात पैसामा कुरा नमिलेपछि मलामी पनि जाँदैनौँ, हेरौँ कसरी गर्दा रहेछौ दाहसंस्कार भनेर ज्वाईं समेत सबैले छाडेर हिडे।”
भोलिपल्ट पनि इनरजितले पाँच लाख रुपियाँ नदिए दाहसंस्कार हुन नदिने अडान छाडेनन्।
पीडित फूलोदेवीका अनुसार त्यसपछि हाम्री १५ वर्षीया छोरी रूपाले आँट गरेर आफै दागबत्ती दिने भनिन् । फुलोदेवीले पीडा पोख्दै भनिन्, “न रुनूस् मम्मी कसैले नगरे मेरो बुबालाई म आफैँ दागबती दिन्छु भनी छोरीले हिम्मत गरी, त्यसपछि सबै तयारी ग-यौँ र भोलिपल्ट अपराह्नतिर छोरीहरूले नै शव बोकेर भब्सीखोलामा लगेर दाहसंस्कार भयो।”
छिमेकीहरुको अनुसार पैसाको लागि यति तल झर्न सक्ने पनि हुँदो रहेछ भनेर हामी अच्चमभित छौं । घरमा मान्छे मरेको भन्दा पनि लासको सौदाबाजीमा उत्रेको देखेर असहाय मृतक परिवारलाई थप पीडा दियो । सीता नेपालले भनिन्, “असहाय मृतक परिवारले शवको अगाडि रुँदै रात काटे। ”
बर्दिबास स्थित देउराली माविको कक्षा ९ मा अध्ययनरत रूपा अहिले बुवाको किरिया बसेकी छिन् । रुपाले छोराले गर्न सक्ने काम छोरीले पनि गर्न सक्छिन् भनेर आफूले छोरीप्रतिको सामाजिक अन्धविश्वास तोड्न पाएकीमा आफू खुशी भएको बताईन् । उनले भनिन्, “बुबाले पनि भन्नुहुन्थ्यो कि ‘मेरो छोरा छैन, तिमीहरूले नै मेरो दाहसंस्कार गर्नू’ त्यसैले बुबाको अन्तिम संस्कार गर्न पाएकोमा मलाई सन्तोष लागेको छ।”
तर यता दाहसंस्कारपछि जातीय अगुवा समेत रहेका सौतेनी ज्वाईं इनरजितले फेरि पनि पाँच लाख रुपियाँ मागेर दुःख दिन थालेको पीडित फुलोदेवीले बताईन्।
फूलोदेवीले अब अहिले आएर काजकिरिया भोजभातका लागि ५ लाख रुपियाँ माग्न थालेको बताईन् , “मेरो बूढोको काजकिरिया म आफँै गर्छु भन्दा, त्यसो भए तिम्रो घर मै आउँदैनौँ, काजकिरिया पनि कुनै जातलाई सहभागी हुन दिँदैनौँ भनेर धम्की दिइरहेका छन् । जातबाट भातपानी काट्ने धम्की दिएका छन्” रुदै फूलोदेवीले भनिन्।
जातिय अगुवा इनरजितले पनि पाँच लाख रुपियाँ मागेको स्वीकार गर्दै छोरा नभएपछि अरूले काजकिरिया गर्दा ‘हैरानी खर्च’ दिनैपर्ने दाबी गरे । मृतक आफ्नो ससुरा पनि भएको र घरमा महिलामात्र रहेकाले काजकिरियामा सहजीकरण गरिदिन आफूले पाँच लाख मागेको उनले बताए । “छोरीले दागबती दिइन् कुरा सक्यो,” इनरजितले भने, “तर काजकिरियाका लागि मैले अगुवाई गर्ने हो भने पाँच लाख त पहिल्यै दिनुपर्छ त्यसपछि हिसाबकिताब गरेर लेनदेन गर्ने यहाँको चलन नै हो तर जातभात काट्ने आरोप गलत हो।”
यस घटनाको सन्दर्भमा महोत्तरीका एसपी कृष्णप्रसाद पङ्गेनीले पीडित मृतक परिवारसँग कुनै पनि बहानामा रुपियाँ माग्नु र मानसिक पीडा दिनु दण्डनीय अपराध भएको बताए । उनले यदि यस्तो अवस्था आए घटनालाई कानुनी दायरामा ल्याउनेतर्फ आफूले कारबाही अघि बढाउने बताए।
इलाका प्रहरीका कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले घटना बारे बुझेर कारबाही अघि बढाउने बताए ।