वर्दिवास — वर्दिवास नगपालिकाका मेयर प्रहलाद क्षेत्रीले एक वर्ष सहि ढंगले नगरको काम गर्न दिए पूर्व जनप्रतिनिधिले गरेका ५ वर्ष को काम नगरवासीले बिर्सिने दाबि गरेका छन्।
मेयर क्षेत्रीले शनिवार साँझ वर्दिवास नगरपत्रकार संजाल संगको छलफलको क्रममा आफू निर्वाचित भएर आएको १०० दिन पनि नभएकोले अहिले नै मुल्यांकन गर्ने आधार बनाउनु गलत भएको बताए।
उनले आफूलाई सहि ढंगले बिना कुनै बाधा अवरोध सृजना गरी अन्य राजनीतिकले चल्न दिए एक वर्ष भित्र नगरपालिकाको कायापलट गरेर देखाउने दाबि गरे ।

उनले भने, ‘हामीले निर्वाचित भएर आएको दिन देखि नै वर्दिवास नगरको समग्र विकासको लागि खाका तयार गर्न लागि परेका छौं । अहिले सम्म नगरको बजेट कुन कुन योजनामा लगाउने कति बजेट विनियोजन गर्ने भन्ने विषयमा त सबै कुरा फाइनल भई सकेको अवस्था छैन । सुरु देखि नै हामी वैज्ञानिक र तार्किक ढंगले काम गर्न खोजेका छौं । हामीलाई सबै क्षेत्रबाट सहयोगको आवश्यक्ता पर्छ र सबैलाई सहयोगको लागि आग्रह समेत गर्दछौं ।’
मेयर क्षेत्रीले सुशासन प्रबर्द्धन र सुचनाको हकको प्रत्याभुति हुने हिसाबले आफूले पदभार सम्हाले देखि नै नगरपालिकाकाे सबै निर्णय र कार्यपालिका बैठकले गरेका निर्णयहरुलाई सार्वजनिक गर्ने गरेकाे उल्लेख गरे ।
मेयर क्षेत्रीले वर्दिवासका सबै राजनीतिक दल, संघ संस्था र निकायहरुलाई समग्र नगरको विकासका लागि सल्लाह सुझाव र साथ दिनलाई आग्रह गरे । उनले हालै केहि राजनीतिक दलका प्रतिनिधिहरुले आफूलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा जब नगरको बजेट समेत बनाई नसकेको अवस्था रहेको हुँदा अहिले यस्तो ज्ञापन पत्र बुझाएको अर्थ के हुन्छ भनेर प्रश्न गरे ।
उनले वर्दिवास नगरपालिकामा जहिले पनि विवाद उत्पन्न हुने रातु खोलाको विषयमा खोला उत्खनन र व्यवस्थापन सम्बन्धी अध्ययनको लागि एक विज्ञहरुको समितिहरु गठन गर्न लागेको र त्यो समितिले दिएको प्रतिवेदनको आधारमा नगरपालिका अघि बढ्ने जनाए।
मेयर क्षेत्रीले अहिले नगरपालिकामा भइरहेको म्याद थप नगरिएका शिक्षकहरुको आन्दोलनको विषयमा समयमा शिक्षकहरुले म्याद थपको निवेदन नदिएको हुँदा नगरपालिकाले विकल्पको रुपमा नयाँ विज्ञापन गरेको बताए । उनले आन्दोलनरत शिक्षकहरुलाई विधि र प्रक्रिया ढंगबाट नयाँ विज्ञापन मार्फत आउन आग्रह गरे ।
उनले नगरपालिका भित्र रहेका सबै विद्यालयहरुको तथ्यांक संकलन गरिएको र कहाँ कहाँ कुन कुन विद्यालयमा कुन कुन विषय शिक्षकको अभाव रहेको एकिन गरेर मात्र विज्ञापन गरिएको जानकारी दिए ।
मेयर क्षेत्रीले माध्यमिक स्तरको विद्यालयको शिक्षकको लागि माध्यमिक स्तर कै लाइसेन्स र सर्टिफिकेट भएको शिक्षकलाई निश्चपक्ष ढंगले छनौट गरि खटाइने निति नगरपालिकाले अबलम्बन गरेको बताए ।




