
सर्लाही - प्रहरीले सर्लाहीको हरिवनस्थित भूपू सैनिक होटलमा छापा मारेको छ । शनिबार राती जिल्ला प्रहरी कार्यालय मलंगवा र ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन ११ स्थित चिनी मिल छेउमा रहेको होटलमा छापा मारेको हो ।
प्रहरीले होटलबाट अवैध यौनधन्दामा संलग्न रहेको आरोपमा ५ महिला र ३ पुरुषलाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
होटलका संचालक फरार छन् । सो होटललाई यसअघि एक दुई पटक सचेत गराउँदा यौनधन्दा नरोकिएको गुनासो आएपछि प्रहरी टोली गएर खानतलासी लिँदा ८ जना पक्राउ परेका सर्लाही प्रहरीका प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिए । यस्तै, आइतबार दिउँसो मात्रै पनि प्रहरीले ईश्वरपुर नगरपालिकाको बयलवास बजारमा रहेको एक होटलमा पनि छापा मारेको छ ।
त्यहाँ पनि केही व्यक्ति पक्राउ परेका र उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवा लगिँदै गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।