काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय भारतीय नागरिक राहुल रेमानान छन् ।
उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी दुबईबाट काठमाडौं आएका थिए । राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणपछि काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चारवटा पोका फेला परेको प्रहरीले जनाएको छ ।
अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




