
जनकपुरधाम- मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित श्री जानकी आँखा अस्पतालका चिकित्सकहरुको अथक प्रयासले रामा ठाकुरको आँखा गुम्नबाट जोगिएको छ ।
भारतको सितामढी जिल्लाको रुपौली बस्ने ४५ बर्षीय रामा ठाकुरको दायाँ आँखाको भित्री भागमा विगत डेढ बर्षदेखि १ इन्च लामो बाँसको सिन्को अड्केर बसेको थियो । तर, उनलाई यसबारे केही जानकारी नै थिएन ।

करिब एक घण्टा लामो शल्यक्रियापछि उनको आँखाको भित्री भागबाट बाँसको सिन्को निकालिएपछि उनीसमेत चिकित्सकहरु पनि छक्क परे । डा.आशिष बोहरको नेतृत्वमा नेत्र अधिकृत ज्ञानेन्द्र प्रसाद विमल तथा स्वास्थ्यकर्मीहरुको टोलीले शुक्रवार Foreign body Exploration and Removal जटिल किसिमको शल्यक्रिया गरेका थिए ।
शल्यक्रिया पश्चात चिकित्सकहरुलाई धन्यवाद दिंदै ठाकुरले भने “ म एकदमै खुशी छु, जनकपुरधाममा आएर आँखा जोगियो ।” बाँस काट्न गएको बेला आँखामा चोट लागेको सम्झदै उनले थपे “दुखाई नभएपनि बेला बखत आँखा पोल्ने, आँखाबाट पिप आउने, चिलाउने लगायतका समस्या थियो, विभिन्न स्थानमा उपचार पनि गराए, केही दिन समान्य हुने र फेरी त्यही समस्या दोहरिन्थ्यो, पारिवारिक सल्लाहमा उपचारको लागि जनकपुर आए , भित्र बाँसको सिन्को होला भन्ने त सपनामा पनि सोंचेको थिइन । ”

जानकी आँखा अस्पतालमा आँखामा बाहिरी बस्तु पसेर घाइतेका भएका बिरामीहरु आइरहन्छन्, तर रामा ठाकुरको जस्तो समस्या पहिलो पटक देखेको उपचारमा संलग्न नेत्र अधिकृत ज्ञानेन्द्र प्रसाद विमलले बताए । विमलले भने “ यो अलि जटिल किसिमको समस्या थियो, बाँसको सिन्को भित्री भाग लुकेर बसेको जस्तो नै थियो, अथक प्रयासपछि बाहिर निकाल्न सफल भयौं, हाम्रो लागि पनि यो फरक अनुभव हो, उहाँको समयमा उपचार नभएको भए थप जटिल किसिमका समस्या तथा रोगहरुका कारण आँखा नै गुमाउनु पर्ने अवस्था आउन सक्थ्यो, ।”
यस्ता समस्याहरुबाट बच्न आँखालाई असर नपर्ने गरि होश पु¥याएर काम गर्नु पर्ने चिकित्सकहरुको सुझाव छ । आँखामा कुनै किसिमका समस्या देखिएमा ढिलासुस्ती नगर्न तथा अस्पतालमा आँखा जाँच गराउनु नै उपयूक्त हुने उनीहरुको भनाइ छ ।