जनकपुरधाम- आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई केन्द्रित गर्दै नवगठित तराई–मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । सो सहमतिकै आधारमा दुवै दल मिलेर लोकतान्त्रिक मधेसी फ्रन्ट गठन गरिएको छ ।
मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा दुवै पार्टीबीच चुनावी तालमेलको घोषणा गर्दै फ्रन्ट गठनबारे जानकारी दिइएको हो । तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले मधेस विद्रोहका मुद्दालाई संस्थागत गर्न तथा विकासको पारदर्शी रणनीतिका साथ मधेस र देशलाई संघीयताको अभ्यासमा अघि बढाउन आन्दोलनकारी लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गरिएको बताए ।
लोकतान्त्रिक मधेसी फ्रन्टको नीति तथा कार्यक्रम तयार गर्न, आवश्यक निर्णय र संचालन गर्न परिचालन समितिसमेत गठन गरिएको अध्यक्ष लालले बताए ।सो समितिमा तमलोपाको तर्फबाट वरिष्ठ नेता डा. विजय कुमार सिंह, केन्द्रीय सदस्यद्वय रविशंकर कुमार कर्ण र बिभा ठाकुर तथा नेपाल सद्भावना पार्टीको तर्फबाट वरिष्ठ नेता राजेन्द्र प्रसाद सिंह कुशवाहा, सह–महासचिव डा. रविन्द्र कुमार चौधरी (राजेश) र राष्ट्रिय सल्लाहकार समिति सदस्य बालकेश्वर ठाकुर छन् । फ्रन्टले मधेस आन्दोलनका मुद्दाहरुप्रति प्रतिवद्ध लोकतान्त्रिक शक्तिहरूलाई एकजुट पार्न चलाएको अभियानमा सहभागिताका लागि आह्वान गर्ने नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले बताए ।