लालगढ(धनुषा)।धनुषाको लालगढमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा चोरी भएको छ । सहकारीका अध्यक्ष शिवकुमार सुनुवारका अनुसार सहकारीको कार्यालयबाट ९४ हजार रुपियाँ चोरी भएको हो ।
शुक्रबार बन्द गरिएको कार्यालय आइतबार खोल्दा कार्यालयभित्र रहेको पैसा राख्ने दराज फुटालिएको र त्यहाँ राखिएको ९४ हजार रुपियाँ नरहेको अध्यक्ष सुनुवारले बताए ।
कर्मचारीहरुले शुक्रबार बन्द गरेर आइतबार कार्यालय खोल्दा त्यस्तो देखियो । चोरी गएराती भएको हो कि शुक्रबार राती नै केही थाहा छैन । चोरी घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराएको उनले जनाए ।
प्रहरी चौकी लालगढका इन्चार्ज लक्ष्मीप्रसाद यादवले सहकारीमा चोरी भएको घटनाबारे जानकारी प्राप्त हुनसाथ कार्यालयको वस्तुस्थित बुझने काम गरिएको बताए । उनले चोरी घटनाबारे अनुसन्धान भइरहेको जनाए ।