
बलिउड अभिनेता अक्षयकुमार र अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘ऐतराज’ र ‘मुझसे शादी करोगी’ जस्ता हिट फिल्ममा एकसाथ अभिनय गरेका छन् । तर फिल्म ‘वक्त’पछि भने यी दुईले सँगै स्क्रिन सेयर गरेका छैनन् ।
यो जोडीलाई सँगै पर्दामा देख्न चाहने दर्शकको संख्या ठूलो छ । यी दुईलाई सिनेमा हलको पर्दामा तत्कालै एकसाथ देख्न पाउने सम्भावना नरहे पनि १७ वर्षअघि खिचिएको एक गीतमा भने अक्षय र प्रियंका एकसाथ देखिएका छन् ।
सन् २००५ मा छायांकन गरिएको फिल्म ‘बरसात’को गीत ‘वो पहली बरसात’ गीत हालै रिलिज भएको छ । गीतमा अक्षय र प्रियंका रोमान्टिक र हट अवतारमा प्रस्तुत छन् ।
यो गीत १७ वर्षपछि आएर सार्वजनिक गर्नुको कारण भने रोचक छ । खासमा फिल्म ‘बरसात’मा सुरुमा अक्षयकुमार अनुबन्धित थिए । तर पारिवारिक कारण देखाउँदै उनले बीचमै यो फिल्म छोडे । गीत भने खिचिसकिएको थियो । अक्षयले छोडेपछि निर्देशक सुनिल दर्शनले उनको ठाउँमा बबी देवललाई लिएर फिल्म बनाए ।
यो गीत पनि त्यसपछि प्रियंका र बबी देवलमाथि नै छायांकन गरियो । तर कुमार सानुले गाएको यो चर्चित गीतका ‘ओरिजिनल’ जोडी भने अक्षय र प्रियंका थिए ।