लहान: सिरहाको लहान नगरपालिका १९ छरापटीकी आयशा खातुन आफनै परिवारबाट शोषणको सिकार भएकी छन् । परिवारका सबै सदस्य मिलेर आयशामाथि शोषण गर्दै आएको खुलेको हो ।
पटक पटक परिवारकै सदस्यबाट शोषण र कुटपिट गर्दा उनी आजित भएर प्रहरी कार्यालयमा न्यायका लागि पुगेपछि घटना बाहिरिएको छ । पछिल्लो पटक ०७९ असार २७ मा उनलाई भारतको खुटौना लगेर श्रीमान मो. समरुल मियां र देवर मो. नइमले निर्घात कुटपिट गरेका थिए ।
श्रीमान र देवरले आयशाको छात्तीको हड्डी भाँचिदिएका छन् । कुटपिटबाट घाईते पीडित आयशा भारतको दरभंगा पुगेर मेडिवोल्ड मल्टीस्पेसियलिस्ट अस्पतालमा उपचार गराएकी छन् । उपचारमै उनी लाखौ रुपैया खर्चेकी छन् । अहिले पनि उनी स्वास्थ्य भइसकेकी छैन, औषधी नियमित रुपमा सेवन गरिरहेकी छन् ।
सासु दरुदिन खातुनले ससुरा फुलचन भन्ने फुल मोहम्मद मियाँ र देवर मो नइमसँग अवैध सम्बन्ध राख्न दबाब दिएको आयशाको आरोप छ । उनले देवर र ससुरासँग अवैध सम्बन्ध राख्न सासुले दिएको दबाबबारे श्रीमानलाई बताउँदा उल्टै कुटपिट गरेको र सासु-ससुराले भनेको सबै कुरा नमाने पछि परिवारकै सदस्यबाट अन्यायमा परेको र घरमै असुरक्षित बनेकी आयशा न्यायका लागि ईलाका प्रहरी कार्यालय लहानमा श्रीमान, सासु, ससुरा र देवरमाथि उजुरी दिन पुगेकी थिइन् ।
तर प्रहरीले उजुरी दिन मानेको छैन। उनी जर्वजस्ती करणी तथा अङ्गभङ्ग मुद्दा दर्ता गराउन चाहेकी छन् । तर प्रहरीले जर्वजस्ती करणी मुद्दा दर्ता नहुने भनेर उनलाई फर्काइएको बुझिएको छ ।
मुस्लिम समुदायमा तलाक दिने प्रथा छ । आयशा भन्छिन्, ‘मलाई कुटपिट गरेपछि अस्पताल भर्ना भए। तर मेरो श्रीमानले गुपचुप विहे गर्न लागेका थिए । मैले थाहा पाएपछि विवाह रोकेकी छु।’ उनी श्रीमानले गर्न लागेको विवाह रोक्न र आफूलाई न्याय दिन स्थानीय प्रशासनसँग माग मान्न भनिरहेको गुनासो गरेकी छन् ।
ससुराको मालिस गर्न जाँदा घरको चुकुल लगाएर आफूसँग अन्याय गरेको पनि आयशाको आरोप छ । उनी असुरक्षाका कारण ससुरामा बस्न छाडेकी छन् उनी अहिले सानीआमाको घरमा बस्दै आएको सुनाइन् ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डिएसपी कुमार प्रसाद मैनालीले पीडित महिला नै सम्पर्क विहिन बनेको बताए भने ति महिला उजुरी लिएर आएकी थिइन् । घटनाबारे बुझ्न पहिले दुबै पक्षलाई बोलाउने भनेपछि गइन् । त्यसपछि सम्पर्कमै आएकी छैन ।’- महेश सिंह




