एसिया कप क्रिकेटको सुपर फोरमा श्रीलंकाले भारतलाई हराएको छ । दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हरायो ।
भारतले दिएको एक सय ७४ रनको लक्ष्य श्रीलंकाले ४ विकेट गुमाएर एक बल अघि नै भेटायो। श्रीलंकाका लागि पथुम निस्संकाले ५२ र कुशल मेन्डिसले ५७ रन बनाए ।
दसुन सनकाले ३३ र भानुका राजापाक्षेले नटआउट २५ रन बनाए। श्रीलंकालाई अन्तिम दुई ओभरमा जितको लागि २२ रन चाहिएकोमा १९ औँ ओभरमा भुवनेश्वर कुमारले १५ रन दिएपछि खेल श्रीलंकाको पोल्टामा गएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ८ विकेट गुमाएर एक सय ७३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ७२, सूर्यकुमार यादवले ४३ तथा हार्दिक पाण्ड्या र ऋषव पन्तले समान १७/१७ रन बनाए।
बलिङ्तर्फ श्रीलंकाका दिलसान मदुसनकाले तीन, चमिका करुणारत्ने र दसुन सनाकाले २/२ तथा महिस थीकसनाले एक विकेट लिए ।
सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग हारेको भारतको फाइनल पुग्ने सम्भावना निकै कम भएको छ । भारतलाई फाइनल पुग्नको लागि आफूले बाँकी एक खेल जितेर मात्र पुग्ने छैन अरु टिमको नतिजामा पनि भर पर्नुपर्नेछ ।
श्रीलंकाले भने लगातार दुई खेलमा जित हात पार्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।




