
जयनगर– बर्दिवास रेलमार्ग अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुर ासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिएका छन् । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको हो । रेल सञ्चालनको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन गरिने छ ।बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी रेलमार्ग निर्माणमा भने जग्गा मुआब्जा विवादले काम प्रभावित भएको छ । “जग्गा मुआब्जाको समस्या लगायतका कारण बिजलपुरा भङ् गहादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ”, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने, “कतिपय ठाउँमा व्यावहारि करुपमा सडक देखिएको छ, तर नक्सामा सडक छैन तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् ।” उनका अनुसार सो क्षेत्रका कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती रहेका र उनीहरुसँग जग्गा स्वामित्वको कुनै कागज नहुँदा पनि मुआब्जा मागेर विवाद गरिरहेका कारण रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ । आफूहरुले चाहेर पनि समस्या समाधान गर्न नसकिरहेको महाप्रबन्धक झाले बताए । उनले भने, “मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिवाससम्म रेल चल्न थाल्छ, मुख्यतः हामीलाई रेलमार्ग निर्माणका लागि अहिलेदेखि ठूलो समस्या यही नै हो ।”
रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार सन् २०११ महिनामा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । नेपाललाई रेल सञ्जालमा जोड्ने सरकारको नीतिअनुरुप महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्मको रेलमार्ग निर्माणका लागि माटो फिलिङको कार्य भइरहेको छ । यस्तै निजगढ– काठमाण्डु रेलसेवा सञ्चालनका लागि रेलमार्गको डिपिआर तयारी भईरहेको जनाइएको छ । केही दिनअघि प्रतिनिधिसभा अन्तर्गतको विकास समितिका सभापति कल्याणी खड्काको नेतृत्वमा समितिका सदस्यको टोलीले निर्माणाधीन सो रेलमार्गको निरीक्षण गरेका थिए । महोत्तरीको बर्दिबासदेखि भारतको जयनगरसम्मको रेलमार्गको निरीक्षण गरी टोलीले कुर्थादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणका क्रममा देखिएको मुआब्जा विवाद र समाधानका उपायबारे प्रदेशसभाका सदस्य, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झा, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेलमार्गमा पर्ने स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किमी निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किमी रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेलसेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डा देखाएर जयनगर–कुर्था रेल मार्गमा रेलसेवाको उद्घाटन गरेका थिए । त्यसयता रेलसेवा दैनिक दुई पटक सञ्चालन भइरहेको छ ।
बिना इन्स्योरेन्स चल्दै छ नेपालको रेल
ठूला साना सवारी साधनको नामसारी तथा नवीकरण गराउँदा सो सवारी साधनको इन्स्योरेन्स हुनुपर्ने नेपालको कानूनी प्रावधान छ । तर नेपाल सरकारले आफै उक्त प्रावधानलाई उलंघन गरी महिनौ देखि जयनगर कुर्था रेल नियमित रुपमा संचालन हुँदै आएको तथ्य सार्वजनिक भएको छ ।
भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलो मिटर दूरीमा दैनिक दुई पटक संचालन हँुदै आएको दुई वटा रेल बिना इन्स्योरेन्स संचालन भइरहेको छ । गत चैत २० गतेदेखि एक पटकमा हजारभन्दा बढी यात्रु लिएर हिड्ने दुई वटा रेलको अहिले सम्म बिना इन्स्योरेन्स नियमित रुपमा संचालन हुँदै आएको छ । नेपाल रेल्वे विभागका इन्जिनियर तथा काजमा नेपाल रेल्वे कम्पनीमा कार्यरत रहेका रविन्द्र साहले पनि दुबै रेल बिना इन्स्योरेन्स संचालन भइरहेको स्वीकार गरेका छन् । उनले बजेटको अभावमा अहिलेसम्म दुबै रेलको इन्स्योरेन्स गराउन नसकिएको बताए ।
दुबै रेलको इन्स्योरेन्सको लागि गत आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरिएको थियो । इन्जिनियर साहले भने,‘ रकम अपुग भएपछि इन्स्योरेन्स गराउन सकिएन । चालु आर्थिक वर्षमा पनि आवश्यकता अनुसारको रकम विनियोजन भएको छैन । इन्स्योरेन्सको लागि थप बजेटको व्यवस्थापन नभए यो आर्थिक वर्षमा पनि हँुदैन ।’ दुबै रेलको इन्स्योरेन्सको लागि ७५ लाख रकम खर्च हुने उनले जानकारी दिए । उनले भने इन्स्योरेन्स नभए पनि रेल दुघर्टनाग्रस्त हुँदा यात्रुलाई नेपाल रेलको ऐन अनुसार मृतकका परिवारजनले ७ लाख क्षतिपूर्ति वापत पाउने व्यवस्था गरिएको छ ।
त्यसकारण, यात्रुहरुलाई खासै समस्या हुँदैनन् । तर रेलमा कुनै प्रकारको समस्या भएको खण्डमा अनावश्यक खर्चको भार उठाउनुपर्छ ।’ जयनगर–कुर्था रेल नेपाल रेल्वे कम्पनीले नियमित रुपमा चलाए पनि दुबै रेल अहिले पनि नेपाल रेल्वे विभागकै नाममा रहेको छ । नेपाल रेल्वे विभागले अझै पनि दुबै रेलको स्वामित्व नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गर्न नसकेको उनले बताए ।