
अमृत कुमार महतो/ महोत्तरी
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्वर ९ पशुपतिनगर चारै तिरबाट रातु खोलाले घेरिएको छ । समान्य बर्षा हुँदा पनि एकटोलबाट अर्को टोल पुग्न जोखिम माेलेर खोला तर्नुपर्छ । खोला तर्न नसक्नेले मात्र २ सय ५९ मिटर बाटोको दुरी घुमेर पार गर्न १० देखी १५ किलोमिटर अर्को बाटो घुमेर हिँड्नुपर्ने बाध्यता थियो ।
तर खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै आवतजावत गर्न सहज भएको छ।
बर्दिबास नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष घुरण महतोको पहलमा मधेश प्रदेशको पुर्वाधार विकास कार्यालयको सहकार्यमा वडा कै पशुपतिनगरको बीचमा पर्ने रातु खोलामा झोलुङ्गे पुल निर्माण गर्दा घण्टौँ लाग्ने बाटो १५ मिनटमै छोट्टिएको छ।

७३ वर्षीय तेजीलाल महतोले झोलुङ्गे पुल बनेपछि धनुषा, महोत्तरी र सर्लाहीका मानिसहरुलाई आवतजावत गर्न सहज भएको बताए । लामो समयदेखि पुल नहुँदा १५ मिनेटको बाटो तय गर्न बर्दिबास घुमेर जादाँ घण्टौं लाग्ने गरेकामा अब सो बाध्यता हटेको उनले सुनाए ।
सामान्य पानी पर्दा बाढी आउँदा खोलामा पुल नहुँदा आवतजावत नै बन्द हुँदै आएको स्थानीय रंजीत महराले बताए । उनले भने, अब स्थानीय बासिन्दाले खोलामा तर्नुपर्ने समस्याबाट मुक्ति पाएको हो ।
२ सय ५९ मिटर झोलुङ्गे पुल ३ करोड २९ लाखको लागतमा निर्माण भएको खम्पाचे काग्री गोर्खा जेभी लिमिटेड काठमाण्डौका इन्चार्ज मोहन प्रसाद यादवले जानकारी दिए । ’सो खोलामा पुल बनेपछि स्थानीयले खुशी व्यक्त गरेका छन,’ उनले भने ’बाढीे आएको बेला आवतजावत गर्न कठिन हुने गरेको थियो र त्यो समस्या हटेको छ।'