
महोत्तरी - मधेस प्रदेशमा मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि म्यादी प्रहरी भर्नाको लागि लगभग ६७ हजार दरखास्त दर्ता भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भर्नाको लागि आवेदन दिने आज अन्तिम दिन सम्ममा म्यादी प्रहरीमा भर्ना हुनको लागि प्रदेशका ८ वटै जिल्लामा दरखास्त दर्ता गराउनेको संख्या ६६ हजार ८ सय ८४ जना रहेको छ। जसमध्ये ११ हजार ८ सय २७ महिला र ५५ हजार ५७ जना पुरुष रहेको छ।
मधेस प्रदेश प्रहरी कार्यालको अनुसार सबै भन्दा बढी दरखास्त बारा जिल्लाबाट महिला २४६६ र पुरुष ८९३९ गरी ११४०५ र सबै भन्दा कम सिरहा जिल्लाबाट महिला १२९९ र पुरुष ५५२० गरी ६८१९ रहेको छ ।
त्यसैगरी सप्तरीबाट १६२३ महिला र ७३३७ पुरुष गरि ८९६०, धनुषाबाट ११२५ महिला र ६७०९ पुरुष गरी ७८३४, महोत्तरीबाट १३३३ महिला र ५९६९ पुरुष गरी ७३०२, सर्लाहीबाट १५७० महिला र ७०९३ पुरुष गरी ८६६३, रौतहटबाट ११६३ महिला र ७४२० पुरुष गरी ८५८३, पर्साबाट १२४८ महिला र ६०७० पुरुष गरी जम्मा ७३१८ जनाले दरखास्त दर्ता गराएका मधेस प्रदेश प्रहरी कार्याल प्रवक्ता डीएसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
प्रदेश डीएसपी तिम्सिनाले भने, “गत स्थानीय तह निर्वाचनमा खटि सकेका पुरानै अनुभवी म्यादी प्रहरीलाई प्राथमिकतामा राखिएको छ। “पुरानाबाट बचेका सिटमा नयाँले मौका पाउने छन्,” उनले भने, “त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेको हुनुपर्छ।”
भर्ना हुनका लागि नेपाली नागरिक भएको, साधारण लेखपढ गर्न जानेको, शारीरिक रूपमा तन्दुरुस्त, कुनै फौजदारी अभियोग नलागेको, कुनै दलको सदस्य नभएको र १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको लगायतका मापदण्ड पूरा गरेको हुनुपर्ने मधेस प्रदेश प्रहरी कार्यालले जनाएको छ।
‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड २०७९’ अनुसार आवेदन दिएकाको असोज ९ गतेदेखि १४ गतेसम्म छनोट हुने र असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तालिका छ।
भर्ना भएका म्यादी प्रहरीका लागि पारिश्रमिक बापत प्रतिदिन ८६९ रुपियाँको दरले ३४ हजार ६७० रुपियाँ पाउने व्यवस्था गरिएको छ । यस अतिरिक्त खाना खर्च बापत एकमुष्ट सात हजार दुई सय रुपियाँ र तोकिएको पोसाक एवं अन्य बन्दोबस्तीका सामान खरिदका लागि जनही छ हजार रुपियाँ सुविधा पाउने व्यवस्था गरिएको छ।
‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड २०७९’ मा उल्लेख भएअनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीले यातायात बापत एक हजार र तीन सयका दरले चार दिनको खाजा खर्चसमेत पाउने मधेस प्रदेश प्रहरी कार्यालय प्रवक्ता डीएसपी तिम्सिनाले जानकारी दिए।