
महेन्द्रनगर- जनप्रतिनिधिहरु बीचको आन्तरिक विवादका कारण चाडपर्वको समयमा पनि तलब भत्ता नपाउँदा धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरु आजबाट धर्नामा बसेका छन् ।
समय मै तलब भत्ता उपलब्ध गराईदिन यसअघि ज्ञापन-पत्र बुझाउदै सांकेतिक विरोधका कार्यक्रम गर्दा पनि माग सम्बोधन नभएपछि उनीहरुले कार्यालयको सम्पुर्ण कामकाज ठप्प गरि धर्नामा बसेका छन् ।
नगरपालिकाको बजेट अहिले सम्म पास हुन नसक्दा नेपालीहरुको महान चाड दसैंमा कर्मचारीहरुले तलब समेत नपाउने अवस्था सृजना भएको मेयर सुखदेव यादवले बताएका छन् ।
उनले आफूहरु अल्पमतमा रहेको र विपक्षीहरु बहुमतमा रहेको हुँदा नगरपरिषद गर्नमा समस्या भएको बताए ।
मेयर यादवले परिषद सम्पन्न नभएपछि बजेट पास नभएको हुँदा अहिले नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई चाडपर्वमा समेत तलबभत्ता नखुवाउन सक्ने अवस्था सृजना भएको बताए।
यसरी नगरपालिकाका जनप्रतिनिधिहरुको आपसी विवादले सर्वसाधारण जनताको काम सेवा ठप्प हुँदा त्यसको प्रत्यक्ष मारमा नगरवासी जनता पर्ने भएकाले चाडै समस्या समाधान नभए नगरका जनता समेत आन्दोलनमा उत्र्ने बताउन थालेका छन् ।