
जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको जनलहर देखेर सत्तारुढ गठबन्धन तर्सि सकेको बताएका छन्।
धनुषाको विदेह नगरपालिका स्थित तीनकौरिया चोकमा एमाले धनुषा द्वारा आज आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेसँग एक्लै भिड्न नसकेर सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताए ।

उनले प्रतिक्रियावादी शक्तिहरू सबै मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेर डराएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमालेले फेरि पनि देशको ठूलो पार्टी बन्ने निश्चित रहेको दाबि गरे।

ओलीले मधेश आन्दोलनका बेला आफु मधेश आउँदा राज्य र केहि समुहले मान्छे मार्न थालेपछि जनताको माया लागेर मधेश आउन छोडेको बताए ।
ओलीले सप्तरीको मलेठमा आफु आउँदा राज्यले जनता मारेर उपद्र मचाएको भन्दै त्यसपछि जनताको माया लागेर ‘भयो अव जान्न’ भन्दै तराई मधेश आउन छाडेको बताए।
ओलीले एमाले आफ्नो सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेशमा एमालेमा प्रवेशको लहर चलेको तर्क गरे ।
ओलीले निर्वाचन पश्चात् एमालेको सरकार बने ५ वर्ष भित्र सुकुम्बासीको हरेक समस्या समस्या समाधान गर्ने बताए । उनले सो अविधिमै प्रत्येक गरिब विपन्नलाई सुविधा सम्पन्न घर पनि बनाएर वितरण गर्ने आश्वासन दिए।

आफनो सरकारले जन्मसिद्वका नागरिकको भलाईका लागि नागरिकता ऐन ल्याउँदा संसद, संसदिय समिति र हरेक वार्ता र छलफलमा समेत गठबन्धनका केहि दलहरुले अवरोध गरेपछि अध्यादेश मार्फत ऐन ल्याउँदा समेत अदालतमा उजुरी दिएर रोक्न लगाएको भन्दै उनले अहिले नागरिकतामा लफडा झिकिएको बताए । उनले अव आफनो सरकार बनेको एक महिना भित्रै नागरिकता विद्येक पारित हुने ठोकुवा गरे ।

उनले गठबन्धन सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप समेत लगाए ।
उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भने, “सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने शंका लागेको ठाउँमा प्रहरी सरुवा गर्ने , कर्मचारी सरुवा गर्ने काम गरेको छ ।”
ओलीले यो सरकार अलोकतान्त्रिक, तानाशाही . स्वेच्छाचारी भएको आरोप लगाउँदै उनले भने, “सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको छ । तर याद रहोस् देशमा एमाले पनि छ भन्ने कुरा नबिर्से हुन्छ ।”

आज आयोजित कार्यक्रममा निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरि लगायतका नेताहरु एमाले प्रवेश गरेका छन्।
अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरु अलपत्र नपर्ने बताउँदै उनले भने, “नव प्रवेशी नेताहरुलाई अवसर दिएर नै अगाडि बढाउनेछौं । तपाईहरुलाई कुनै पछुतो हुने छैन ।”