
जनकपुरधाम- मिथिला नगरी जनकपुरधामका शक्तिपीठहरु बेहुली झै सजिएका छन् ।
राजदेवी मन्दिर, अमरखना माई, बौधी माई, पियरिया माई, सोनासत्ती देवीलगायतका शक्तिपीठहरुको वरिपरि रंगीचंगी प्रवेशद्वार निर्माण गरिएका छन् । आकर्षक झाल—फानूस तथा बिजुलीबत्तीले श्रृंगार पटार गरिएका छन् ।

विद्यापति चोक, रामानन्द चोक, जीरो माइल, पुल चोक आदि स्थानमा आकर्षक दुर्गा प्रतिमा निर्माण गरी सोमवार विधिवत कलश यात्रा सहित घटस्थापना मनाइएको छ ।

अहिले जनकपुरधाममा दसैँको विशेष रौनकता छाएको छ । दसैँको पहिलो दिनदेखि सबै मन्दिरहरूमा पूजापाठ गर्नका लागि बिहानदेखि भिड लागेको छ ।

राजदेवी मन्दिरको उत्तरी प्रवेशद्वारमा गत वर्ष निर्माण गरिएको भव्य तथा आकर्षक प्रवेशद्वारलाई बिजुली र फूलले सजाइएको छ । विभिन्न ठाउँहरूमा सेल्फी प्वाइन्टहरु बनाइएकाले युवा युवतीहरु सेल्फी लिन मस्त देखिन्छन् । महावीर युवा कमिटीले राजदेवी मन्दिरको पूजा व्यवस्थापन गर्दै आएको छ ।

राजदेवी मन्दिरभन्दा दक्षिणमा अवस्थित बौधी माई मन्दिरको श्रृंगारमा पनि लाखौं खर्च गरिएको छ। बौधी माई र अमरखना मन्दिरको पूजा व्यवस्थापन भने राम युवा कमिटीले गर्दै आएको छ । यसैगरी देवी चोकस्थित भगवति मन्दिर र अंगराजसरको पूर्वी डिलमा अवस्थित राजदेवी मन्दिरको सजावटमा पनि लाखभन्दा बढी खर्च गरिएको छ । यसैगरी रामानन्द युवा कमिटीले रामानन्द चोकमा , विद्यापति क्लवले विद्यापति चौकमा दुर्गाप्रतिमा निर्माण गरी पूजा अर्चना सुरु गरेको छ ।

स्थानीय युवा क्लबहरुको सक्रियतामा दसैंभरी पूजा र बोकाबलीको व्यवस्थापन हुँदै आएको छ । नवरात्रामा लाखौं श्रद्धालु सहभागी हुन्छन् । खासमा महिला श्रद्धालुहरुको व्यवस्थापन क्लबका स्वयंसेवकहरुको लागि कठीन हुन्छ । विभिन्न शक्तिपीठहरूमा दर्शन तथा पूजा गर्न महिलाहरू राति २ बजेपछि नै आउने गर्छन् ।

महावीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिल कुमार प्रसादका अनुसार राति महिलाहरुको तथा बिहान बेलुका पुरुषहरूको भीड नियन्त्रण गर्न सयौं स्वयंसेवक परिचालन गर्नु पर्दछ ।

उता श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको छ । भिडलाई ध्यानमा राखेर आवश्यकता अनुसार प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



