
जनकपुरधाम- मधेश प्रदेशको मन्त्रिपरिषद् बैठकले एक महिनाअघि १० भदौमा आफूलाई पैसा दिने भन्दै गरेको निर्णय कार्यान्वयन नभएपछि निहारिका राजपूतले मुख्यमन्त्रीलाई पत्राचार गरेकी छिन्।
आफू बलात्कृत भएको र न्यायको लागि लड्दै आएको बताउने निहारिकाले ५ लाख रुपैयाँ माग गर्दै पत्र लेखेकी हुन्। प्रदेश सरकारले आर्थिक सहायता दिने भन्दै निर्णय गरेको आज महिना दिन पुगेको छ।
आफूलाई रकम दिने भनेर मिडियामा प्रचारमात्र गरिएको निहारिकाले आरोप लगाइन्। यस विषयमा मधेशका मुख्यमन्त्री लालबाबु राउतसँग पनि उनले ‘‘ पैसा नदिने भए ५ लाखको हल्ला किन पिटाएको ?’ भन्दै पत्राचार गरेकी छिन्।
आर्थिक समस्याका कारण आफूलाई बच्चाको लालनपालनमा कठिनाइ भइरहेको उनले बताउँदै आएकी छिन्। उनले आफ्नो बच्चा र आरोप लगाएका युवकको डीएनए टेस्ट गर्न माग गर्दै आएपछि आरोपित युवकको स्याम्पल कलेक्सन गरिएको छ।