जनकपुरधाम- मधेस प्रदेश प्रदेशसभाको पाँच वर्षको अवधिमा ९ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् ।
आज मधेश प्रदेशका सभामुख सरोजकुमार यादवल पाँच वर्षको उपलब्धी बारे जानकारी दिदै पाँच वर्षमा प्रदेशसभाको ९ वटा अधिवेशनमा २ सय २८ बैठक, ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड सभा सञ्चालन भएको र प्रदेश सभामा दर्ता भएको ६१ वटा विधेयकमध्ये ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भएको जानकारी दिए ।
उनले पारित हुन बाँकी ६ वटा विधेयक विचाराधीन अवस्थामा प्रदेश सभा सचिवालयमा रहेको बताए।
प्रदेश सभाको पहिलो बैठकबाट प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधिको रूपमा ‘प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५’ पारित गरी सभाको सञ्चालन एवम् कामकारबाही व्यवस्थित हुँदै आएको सभामुख यादवले जानकारी दिए ।
सभामुख यादवले विचाराधीनमध्ये ५ वटा विधेयक विभिन्न समितिमा छलफल गरी प्रतिवेदन सभामा पेश गर्ने अवस्थामा रहेको भए पनि नवौं अधिवेशन अन्त्य भइसकेकोले उक्त प्रतिवेदन सभामा पेश हुन नसकेको जानकारी दिए ।
प्रदेश सभाले आफ्नो कामकारबाही व्यवस्थित गर्न सातवटा विषयगत समिति गठन गर्नुका साथै समय समयमा विशेष समिति गठन गरी आफ्नो कामकारबाही प्रभावकारी रूपमा व्यवस्थित गर्दै आएको सभामुख यादवले दाबी गरे ।
प्रदेशसभाले सरकारको ६ वटा नीति तथा कार्यक्रम, ६ वटा बजेट र दुई पटक विश्वासको मतको सम्बन्धमा छलफल गरी निणर्य गर्नुका साथै यसै अवधिमा प्रदेशको राजधानी र नामको प्रस्ताव २०७८ माघ ३ गते दुई तिहाइ भन्दा बढी मतले पारित भएको जानकारी दिए।
सभामुख यादवले प्रदेशसभाको आफ्नो र सुविधा सम्पन्न भवन नभएका कारणले कोरोना महामारीपछि प्रदेश सभाको बैठकमा पत्रकार तथा सर्वसाधारणलाई प्रवेश गराउन नसकिएको स्वीकार गर्दै नयाँ भवनको निर्माण भएपछि सबै कुरोको व्यवस्था हुने बताए।
नेपालको संविधान जारी भएपछि २०७४ साल मङ्सिर १० र २१ गते सम्पन्न प्रदेश सभा निर्वाचन पश्चात् निर्वाचित भएका प्रदेशसभा सदस्यको २०७४ साल माघ ७ गते शपथ भएर सोही महिनाको २१ गते प्रदेश सभाको पहिलो बैठकबाट प्रदेश सभाको कार्य थालनी भएको सभामुख यादवले जानकारी दिए ।