
वर्दिवास- महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि लक्ष्मी महतो(एमाले) र क्षेत्र नं. १ (क) बाट शारदा देवी थापा(एमाले) तथा रामविनोद श्रेष्ठ(जसपा)ले क्षेत्र नंं. १(ख)बाट उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट प्रतिनिधिसभाको टिकट पाएका लक्ष्मी महतोले वारेस मार्फत मनोनयन दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टीबाट आज विहान मात्रै एमाले भित्रिएका महतोले बर्दिवासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत महोत्तरी—१ बाट उम्मेदवारी दर्ता गराएका हुन् । महतोको वारेसमार्फत मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।
मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका महतो फरार सूचीमा रहेका कारण वारेसमार्फत उम्मेदवारी दर्ता गराएको एमालेका एक नेताले बताए । जिल्ला अदालतको आदेशअनुसार १ लाख धरौटी राखेर तारेखमा रहेका महतो उच्च अदालतको आदेशपछि तारेख तोडेर अदालतको सम्पर्कमा नआएर फरार सूचीमा रहेका छन् ।
पाँच दलीय गठबन्धबाट माओवादी केन्द्रका उम्मेदवारविरुद्ध एमाले-जसपाको गठबन्धनबाट एमालेले महतोलाई उम्मेदवार बनाएको हो । एमाले र जसपा गठबन्धनमा महोतरी(१ एमालेको भागमा परेपछि महतो जसपा छोडेर एमालेमा भित्रिएका हुन । जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दर्ता गराउने तयारी गरेका थिए ।
यस अघि ०७४ को निर्वाचनमा जसपाबाटै महतो प्रतिनिधि सभाका उम्मेदवार थिए । त्यतिबेला उनी पराजित भएका थिए । गत चुनावमा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल निर्वाचित भएका थिए ।
०७४ को निर्वाचनमा निर्वाचित पोखरेल २३ हजार ७७६ मत प्राप्त गरेका थिए भने पराजित महतोले १९ हजार ४९२ मत पाएका थिए । माओवादी केन्द्रका पोखरेल संविधान सभाको निर्वाचन २०६४, २०७० र प्रतिनिधसभा निर्वाचन २०७४ गरी तीन पटक महोत्तरी-१ बाटै निर्वाचित भईसकेका छन् । यसपटक पनि पोखरेल ५ दलीय सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छन् ।
त्यसैगरी मधेस प्रदेशकी प्रदेशसभा सदस्य शारदादेवी थापाले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छिन् ।
उनले महोत्तरी क्षेत्र नम्बर १(क)का लागि नेकपा एमालेबाट उम्मेदवारी दिएकी हुन् ।
आईतवार बर्दिवासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले एमाले-जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी छन् ।
थापा यसअघि २०७४ को निर्वाचनमा पनि महोत्तरी क्षेत्र नम्बर १(क) बाटै प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिईन् ।