
जनकपुरधाम- प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको मध्ये झण्डै ३५ प्रतिशत स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।
पार्टीबाट टिकट नपाएर विद्रोही उम्मेदवारको रुपमा मनोनयनपत्र दाखिला गर्नेहरुको संख्या कमै मात्र रहेको छ । गठबन्धनमा रहेका दलबाट उम्मेदवारी दर्ता गराएकाहरुले निर्वाचनमा कानून छलेर सुविधा लिन पर्याप्त स्वतन्त्र उम्मेदवारी दर्ता गराएको देखिन्छ ।
मधेश प्रदेशको ३२ निर्वाचन क्षेत्र मध्ये प्रभावशाली स्वतन्त्र उम्मेदवारहरु पर्सा, रौतहट र सर्लाहीमा देखिएका छन् । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का लक्ष्मणलाल कर्ण उम्मेदवार भएका छन् । त्यसबाट असन्तुष्ट भएका नेपाली कांग्रेसका नेता अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जनता समाजवादी पार्टी(जसपा) र नेकपा एमालेको गठबन्धनबाट जसपाका नेता एवं वन मन्त्री प्रदीप यादवले उम्मेदवारी दिएका छन् । यादव र कर्णबीच सोझो प्रतिस्पर्धा हुने अनुमानलाई द्विवेदीले परिवर्तन गरिदिएको छ ।स्थानीय बासिन्दाहरुका अनुसार चुनावी प्रतिस्पर्धा त्रिकोणात्मक भएको छ । द्विवेदीको उम्मेदवारीले सर्वाधिक क्षति सत्तारुढ गठबन्धनका उम्मेदवार कर्णलाई हुने देखिएको छ ।सत्तारुढ दलमा विद्रोह भएकाले मतको विभाजन हुँदा एमाले र जसपा गठबन्धनका उम्मेदवार यादवलाई राहत हुन सक्ने अनुमान गरिएको छ ।गत चुनावमा पनि यादव त्यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
रौतहट जिल्लामा भने एमाले र जसपा गठबन्धनमा विद्रोह भएको छ ।एमालेका प्रभावशाली नेता प्रभु साहले पार्टीको टिकट परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रभु साहको उम्मेदवारीले निर्वाचनको परिणामलाई प्रभावित गर्नेछ ।साहले आफू मात्र नभइ प्रदेश सभा सदस्यका लागि एमालेले टिकट दिएका उम्मेदवारहरुलाई समेत स्वतन्त्र रुपमा उम्मेदवारी गराएका छन्। एमालेले जसपा सित गरेको गठबन्धनबाट साह असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । संविधान सभादेखि हाल सम्म निरन्तर निर्वाचित हुँदै आएका साहले यस पटक चुनाव जित्न दल नै नचाहिने सन्देश नेताहरुलाई दिन पनि स्वतन्त्र उम्मेदवारी दिएको बताइन्छ । जनतामा आफ्नो प्रभुत्व रहेको बताउँदै स्वतन्त्र भएर पनि चुनाव जित्न सक्ने बताएका छन् । स्वतन्त्र रुपमा निर्वाचित भएका साहलाई प्रतिनिधि सभामा दलबदल कानूनले समेत असर गर्न सक्दैन् ।
साहको स्वतन्त्र उम्मेदवारीले जसपाबाट रौतहटको निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’बाट उम्मेदवारी दिएका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवका लागि हानीकारक हुन सक्ने अनुमान गरिएको छ । एमाले जसपाबीच चुनावी तालमेल गरिएको छ ।तर साहले एमालेका नेता राजेश चौधरीलाई स्वतन्त्र उम्मेदवार उठाएका छन् ।सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रदेश सभापति कृष्णा यादवले उम्मेदवारी दिएका छन् ।
यसैगरि सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट कांग्रेसका चर्चित नेता डा.अमरेश कुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निरन्तर दुई पटक जितेका सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट पछिल्लो निर्वाचनमा डा.सिंहका निकटतम् प्रतिद्वन्दी रहेका राकेश मिश्रले भने जसपा र एमालेको गठबन्धनबाट उम्मेदवारी दिएका छन् । मिश्रले लोसपा छाडेर जसपाबाट टिकट प्राप्त गरेका हुन् ।सत्तारुढ गठबन्धनबाट क्षेत्र नम्बर ४ मा सर्लाही कांग्रेसका पूर्व सभापति नागेन्द्र कुमार रायले उम्मेदवारी दिएका छन् ।
निर्वाचनको नतिजालाई नै फेर्न सक्ने चर्चित अनुहार पर्सा, रौतहट र सर्लाहीमा रहे पनि स्वतन्त्र उम्मेदवारहरुको संख्या मधेश प्रदेशमा सर्वाधिक रहेको छ । कतिपय स्वतन्त्र उम्मेदवारले आफ्नो पहिचान स्थापित गर्न खोजेका छन् ।तर अधिकांश उम्मेदवार गठबन्धनबाट चुनाव लडेकाहरुलाई आचार संहिता छलेर सुविधा उपलब्ध गराउने उम्मेदवार रहेको अनुमान गरिएको छ ।विगतमा पनि त्यस्ता उम्मेदवारहरुको संख्या अत्यधिक हुने गरेको थियो ।
निर्वाचन आयोगको विवरण अनुसार धनुषामा ६५ र सिराहामा ४८ जना स्वतन्त्र उम्मेदवार छन् । पत्रकार, ईञ्जिनियर, समाजसेवी युवाहरुले पनि चुनावमा जित हात पार्न स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
धनुषाको ३ बाट नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति उमेश साहले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।