
महोत्तरी — आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै महोत्तरीमा राजनीतिक चहलपहल बढेको छ ।
आइतबार दल र स्वतन्त्र उम्मेदवारले मनोनयनयनपत्र दर्ता गराएसँगै प्रचारप्रसार तीव्र भएको हो ।
जिल्लामा विभिन्न दलका उपल्लो तहका नेताको उम्मेदवारीले राजनीतिक माहोललाई झनै तताएको छ । महोत्तरी-३ मा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा हरिनारायण यादव, महोत्तरी-१ मा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, महोत्तरी-२ मा शरतसिंह भण्डारी, महोत्तरी-४ मा जसपा डा सुरेन्द्रकुमार यादव र नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएका छन् । त्यसैगरी नेकपा एमालेका रामदयाल मण्डल र सरोज यादवले क्रमश: महोत्तरी-३ ‘२’ र महोत्तरी-४ ‘१’ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमा गरी जम्मा दुई सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये महोत्तरी-१ प्रतिनिधिसभातर्फ १६ र दुईवटा प्रदेशसभातर्फ ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महोत्तरी-१ (१) मा १६ र महोत्तरी-१ (२) मा २३ जना प्रदेशसभाका उम्मेदवार दर्ता भएका निर्वाचन अधिकृतको कार्यालय महोत्तरी-१ बर्दिबासले जनाएको छ ।
यसैगरी महोत्तरी-२ मा प्रतिनिधिसभातर्फ १७ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ महोत्तरी-२ (१) मा २० र (२) मा २१ जनाको दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी-२ बलवाका निर्वाचन अधिकृत अरुण झाले जानकारी दिए ।
त्यस्तै महोत्तरी-३ मा प्रतिनिधिसभातर्फ २१ जना र प्रदेशसभातर्फ (१) मा १३ र (२) मा २८ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए । महोत्तरी-४ का लागि प्रतिनिधिसभातर्फ १५ र प्रदेशसभातर्फ (१) मा २६ र (२) मा २० जनाको उम्मेदवारी दर्ता भएको सो क्षेत्रका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए ।
आसन्न निर्वाचनका लागि राजनीतिक दलतर्फबाट सत्तारुढ गठबन्धन र लोसपाबीच एवं एमाले र जसपा नेपालबीच तालमेल देखिएको छ । यसका अतिरिक्त जनमत पार्टी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । जिल्लाका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको उल्लेख्य संख्या देखिएको छ ।
निर्वाचनसम्बन्धी महत्वपूर्ण पाटो उम्मेदवारी दर्ता सम्पन्न भएपछि सर्वसाधारण जितहारको अड्कलबाजी गर्दै भेटिन्छन् । यता दलहरू आ-आफ्ना समीकरणका दलहरूबीच मतदानसम्म सहमतिअनुसार अघि बढ्नुपर्ने प्रतिबद्धतासाथ चुनावी प्रतिस्पर्धा कलाका विभिन्न आयामबारे सघन छलफलमा जुटेका छन् ।
आउने मंसिर-४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा यसपटक तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष दुई लाख १५ हजार एक सय ३१, महिला एक लाख ८१ हजार आठ सय ९८ र अन्यमा एक मतदाता दर्ता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्रगतरूपमा सबैभन्दा बढी मतदाता जिल्ला सदरमुकामसमेत रहेको क्षेत्र नं ३ मा ९९ हजार नौ सय ३०, क्षेत्र नं २ मा ९९ हजार सात सय सात, क्षेत्र नं ४ मा ९८ हजार आठ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार चार सय ९७ जना कायम रहेको कार्यालयले जनाएको छ ।
जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर तालिकाअनुसारका गतिविधि थालिएको छ । चुनावलक्षित सुरक्षा योजना र आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताए ।