
काठमाडौं- २५ जेठमा प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचिव पूर्वमन्त्री योगेश भट्टराईले संविधान संशोधन गरेर ७० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई राज्यका कुनै पनि पदका लागि हुने चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका थिए।
उनले सबै राजनीतिक दललाई उक्त व्यवस्थाका लागि सहमतिमा आउन आग्रह गरेको विषय आमजनताले स्वागत गरे तर दलहरूले तयार भएनन्। न्याय सेवामा ६५ र निजामती सेवामा ५८ वर्षमा अवकाश पाउने व्यवस्था छ।
तर, राजनीतिक क्षेत्रमा कुनै सीमा नराखिएको भन्दै आम सर्वसाधारणले समेत यी विषय उठाउँदै आइरहेका छन्। राजनीतिक क्षेत्रमा उमेर हद नराखेकै कारण एकै व्यक्तिले नमरुन्जेल पद ओगटेर बस्ने विकृति आएको भन्दै सर्वसाधारणले प्रश्न गरेका छन्, ‘‘७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा लड्न नपाउने व्यवस्था किन नगर्ने?’’
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने बाचुन्जेल पद ओगट्ने प्रवृत्ति हाबी भएको भन्दै चुनाव नलड्ने घोषणा गरे। उनी अहिले उम्मेदवार छैनन्। २०६४ यता गोरखा–२ बाट लगातार चुनाव लड्दै आएका बाबुरामले चुनाव नलडेपछि अरू थुप्रै ज्येष्ठ नेताहरूलाई पदको मोहले छाडेको छैन।
मतदाताहरूले वर्षैदेखि उठाउँदै आएको यो विषयलाई नजराना गर्दै आएका दलहरूका ७० वर्ष कटेका शीर्ष नेताहरू नै अहिले उम्मेदवार बनेका छन्। निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावलीमा ७० वर्षदेखि ९९ वर्ष उमेर समूहका ३५ जना रहेका छन्। तीमध्ये अधिकांश ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलका शीर्षस्थ नेताहरू नै छन्।
कुल २ हजार ४१२ उम्मेदवारमध्ये ३५ जना देशकै ठूलो पार्टी एमालेदेखि स्वतन्त्रसम्म रहेका छन्। गोरखा २ का टीकादत्त पोखरेल सबैभन्दा धेरै उमेरका उम्मेदवार रहेका छन्। नेपाली कांग्रेस बी.पीबाट उम्मेदवारी दिएका उनको उमेर ९९ वर्ष छ। सो क्षेत्रमा प्रचण्डसहित १२ जना उम्मेदवार छ।
दलका शीर्ष नेताहरू मध्ये सबैभन्दा बढी उमेरका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर हुन्। उनी ८० वर्षको उमेरमा चुनावी मैदानमा छन्। यसअघिको संसदमा सबैभन्दा ज्येष्ठ सदस्य उनी नै थिए।
त्यसपछिका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल हुन्। उनी ७८ वर्षको उमेरमा पौडेल तनहुँ १ बाट उम्मेदवार बनेका छन्। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ७० कटेको ७ वर्ष भइसक्यो। ७७ वर्षका उनी आफ्नो पुरानै क्षेत्र डडेलधुराका उम्मेदवार हुन्।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल ७२ वर्ष भए। पदको आशक्ति अझै नघटेका उनी इलाम १ बाट उम्मेदवार छन्।
निर्वाचन आयोगका अनुसार कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि ७२ नै वर्षका भए। उनी झापा ३ का उम्मेदवार हुन्। कांग्रेस नेता डा. शेखर कोइरालाले पनि ७२ वर्षकै उमेरमा अहिले चुनावी मैदानमा छन्।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अघिल्लो वर्ष फागुनमा ७० लागेका हुन्। उनी झापा ५ बाट उम्मेदवार छन्।
सत्तारुढ गठबन्धनमा आबद्ध दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सर्वेन्द्रनाथ शुक्ल पनि ७२ वर्षको हुन्। उनले रुपन्देही ४ बाट उम्मेदवारी दिएका छन्।
राप्रपा नेता दीपक बोहोराले रुपन्देही ४ बाट ७१ वर्षको उमेरमा उम्मेदवारी दिएका छन्। गोविन्दराज जोशी ७३ वर्षको उमेरमा पनि उम्मेदवार बन्न छाडेका छैनन्। उनी तनहुँ १ का उम्मेदवर हुन्।