
सर्लाही- सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा आज (शनिबार) दिउँसो प्रहरीले दुई शेल अश्रुग्याँस प्रहार गरेको छ ।
स्थानीय एक जोडी युवा युवती राजिखुसी भागेपछि साह समुदायका केटी पक्षका मानिसले यादव समुदायका केटाको काकालाई धर्मशालामा थुनेर बन्धक बनाएको भन्ने सूचना पाएपछि ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । केटी पक्षका मानिसले प्रहरीलाई धर्मशालामा प्रवेश गरी बन्धक बनाइएका केटाको काकालाई उद्धार गर्न नदिएपछि प्रहरीले अश्रुग्याँस (टियर ग्याँस) प्रहार गरेको हो ।
धर्मशालाभित्र प्रहरी पस्न खोज्दा ढुंगामुढा भएपछि २ शेल अश्रुग्याँस प्रहार गरी बन्धक बनाइएका व्यक्तिको उद्धार गरिएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापाले उज्यालो अभियानलाई जानकारी दिए । प्रहरीले भिडलाई हटाउन लाठीचार्जसहित सामान्य बल पनि प्रयोग गरेको छ ।
स्थिति नियन्त्रण गर्न बयलवाससहित जिल्ला प्रहरी कार्यालय मलंगवा, इलाका प्रहरी कार्याल लालबन्दीसहित छेउछाउका प्रहरी युनिटबाट थप मद्धतमा प्रहरी टोली बबरगन्ज पुगेका छन् । अहिले साँझमा घटनास्थलको अवस्था सामान्य नै रहेको र थप मद्धतमा पुगेका प्रहरीलाई फर्काउने तयारी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण पोखरेलले केटाका काकालाई बन्धक बनाई ‘केटाकेटी झिका’ भन्दै कुटपीट गर्ने र उद्धार गर्न जाँदा प्रहरी माथि नै ढुंगामुढा गर्ने १५ जनालाई पक्राउ गरिएको उज्यालोसँग बताए । उनीहरु सबै बयलवास प्रहरीको हिरासतमा छन् ।
असोज १३ गतेदेखि भागेका युवायुवती भने ईलाम पुगेको ३ दिनअघि मात्रै थाहा भएको छ । प्रहरीले फेला पारेर बुझाउन खोज्दा युवतीले युवकलाई छाडेर अभिभावक समक्ष आउन अस्वीकार गरिरहेको प्रहरीेले जनाएको छ । राजिखुसी भागेका जोडीमा युवक २२/२३ वर्षको र युवती २० वर्ष पुग्न केही दिन मात्रै बाँकी रहेको बुझिएको छ ।