
जनकपुरधाम- नेकपा माओवादी केन्द्रले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा उठेका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टीका मुख्यसचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता उम्मेदवारलाई कारबाही गरिएको जानकारी गराएका छन्।
त्यस्ता बागी उम्मेद्वारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रीय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेद्वारी निस्क्रिय गराएमा त्यस्ता बागी उम्मेद्वार तथा तिनका प्रस्तावक र समर्थक उपर कारबाही फिर्ता लिइने जनाइएको छ।
‘यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का आधिकारिक उम्मेद्वार एवम् गठबन्धन दल बीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेद्वारको विरुद्धमा पार्टी कार्यकर्ताद्वारा बागी उम्मेद्वारी दिई तोकिएको मिति र समयभित्र उम्मेद्वारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेद्वारहरु, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको कुरा अवगत गराउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित मिति र समयभित्र आफ्नो उम्मेद्वारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेद्वारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेद्वारलाई विजयी गराउन पूर्ण रुपमा सक्रीय रहने प्रतिबद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेद्वारी निस्क्रिय गराएमा त्यस्ता बागी उम्मेद्वार तथा तिनका प्रस्तावक र समर्थक उपर कारबाही फिर्ता लिइने व्यहोरा सबै पार्टी पंक्तिलाई जनाकारीको लागि निर्देशन अनुसार अनुरोध छ।’