
जनकपुरधाम : निर्वाचनको समयमा पत्रकारहरूले आचारसंहिताको पालना गर्दै संवेदनशिल भएर कलम चलाउनुपर्नेमा जनकपुरधाममा आयोजित कार्यक्रमका सहभागीहरूले जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको १२ औँ साधारणसभाको समुदघाटन कार्यक्रममा सहभागी हुनुभएका वक्ताहरूले पत्रकार जगत् कसैको प्रभावमा पर्न नहुने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारितालाई दोस्रो पेशाको रुपमा राख्नेहरूलाई पत्रकारिता छाड्न आग्रह गर्दै चुनावमा राजनितिक दलका उम्मेदवार बन्ने पत्रकारहरूको सदस्यता खारेज गरेको बताउनुभयो ।
उहाँले पत्रकारहरूको पेशागत सुरक्षाका तथा भौतिक सुरक्षाका लागि नेपाल पत्रकार महासङ्घ लागिपरेको बताउँदै निर्वाचन आचार संहिताको नाउँमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै काम नगर्न महासङ्घले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताउनुभयो । वरिष्ठ प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले पत्रकारिता क्षेत्रमा चाटुकारिता बढ्नु चिन्ताको विषय भएको बताउँदै पत्रकारहरू निष्पक्ष भएर कलम चलाउनुपर्ने तर्क राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णले पत्रकारिता जगतमा भएका समस्याहरूको समाधानका लागि राज्य पक्ष गम्भीर हुन आवश्यक भएको बताउनुभयो । नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बलराम सुवेदीले समाजको रूपान्तरण तथा गलत प्रवृत्तिको विरुद्धमा पत्रकारिता जगत सशक्त रुपमा अगाडी बढ्नु आवश्यक रहेको बताउनुभयो । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पत्रकारहरू पार्टी पत्रकारिताबाट माथि नउठेसम्म निष्पक्ष पत्रकारिताको कल्पना गर्न कठिन हुने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, वरिष्ठ पत्रकार चन्देश्वर गिरी, पूर्व अध्यक्ष उमेश साह लगायतले निष्पक्ष पत्रकारितामा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व सभापति स्वर्गीय माधव आचार्यको श्रीमती तुलसा आचार्य, पूर्व सभापति एवं प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियार, पूर्व सभापति उमेश साह तथा पूर्व अध्यक्ष अनिल मिश्रलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । साधारणसभाबाट सचिव बटुकनाथ झा र कोषाध्यक्ष रामकमल सिंहको क्रमश संगाठनिक र आर्थिक प्रतिवेदन संसोधन सहित पारित भएको छ ।
अनलाइनरेडियोनेपालको सहयोगमा