
जनकपुरधाम- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि सत्ता गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनद्वारा शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन गरिएकाले जिताउनुपर्ने बताए । लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व गराउन र प्राप्त उपलब्धिहरुको रक्षा गर्न पाँच दलबीच गठबन्धन भएको उल्लेख गर्दै उनले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्नमा मतदान गर्न कुनै अप्ठ्यारो नमान्न आग्रह गरे ।
प्रधानमन्त्री देउवाले प्रश्न गरे, “एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने र हामीले किन नहुने ?” उनले भने, “ओलीले केही गरेर भए पनि देशलाई बर्बादै गर्ने भएकाले देशलाई बचाएर लोकतन्त्र, संघीय गणतन्त्रलाई स्थायी बनाउन सबै नेता तथा कार्यकर्ताले घरघरमा गएर सबैलाई भोट हाल्न लगाएर गठबन्धनलाई जिताउन आवश्यक छ ।”

‘देश बचाउनु पनि छ र गठबन्धन जोगाउनु पनि छ,’ देउवाले भने, “संविधानको रक्षा, समावेशी, संघीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन आवश्यक छ ।” गठबन्धनको सरकार बनेपछि धेरै अवसर सृजना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गरिने उनको भनाइ थियो । उनले टिकट र अवसरको आस राखेर पनि नपाएका नेताहरूलाई गठबन्धनका उम्मेदवार जिताउनतिर लाग्न अपील गरे।
प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भने, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ।”

त्यसैगरी नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले निर्वाचन सामान्य प्रक्रिया भए पनि अहिले मंसीर ४ गते हुन गई रहेको निर्वाचन खास उद्देश्यका लागि भएको बताए ।
उनले विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्दै अध्यक्ष प्रचण्डले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा व्यक्त गरे ।
उनले शान्ति सम्झौताको निरन्तरता कै रुपमा गठबन्धन अगाडि बढेको बताउँदै उनले आशन्न निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन कार्यकर्ता एवम् नेतालाई निर्देशन दिए । गर्वका साथ एकले अर्कालाई खुशीसाथ मत खसाल्न आग्रह गर्दै उनले भने, “समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्छ ।”
उनले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच कुनै समस्या नरहेको बताउँदै भने, “हामी यो देखाउन चाहन्छौं कि, गठबन्धनका हामी नेताहरु एक ढिक्का छौं, हाम्रो विषयमा कुनै दरार अहिले छैन”।
उनले आफूहरुले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताए।
‘म सबै साथीहरुलाई के अपिल गर्न चाहन्छु भने हेर्नुस् गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुन्छ’, प्रचण्डले भने, “अहिले टिकट नपाउनुभएको या टिकट वितरणमा भन्याजस्तो नभएकोले मन खुम्चिएका साथीहरुलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति, राजदूतहरु के के हुन्छन् के के । हारियो भने चाहिँ हामी सबैको हालत खराब हुन्छ।”
त्यस्तै नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गलत मानिसको हातबाट नेतृत्व खोस्न गठबन्धन बनेको बताए ।

नेपालले एमाले र जनता समाजवादी पार्टी (जसपा)बीचको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा उनले भने, “हामीहरूको उद्देश्य भने पवित्र रहेको छ । पाँच दलीय गठबन्धन मुलुकलाई संकटबाट बचाउन गरिएको हो । संविधानलाई बचाउनका लागि गरिएको हो।”
उनले एमालेको मुख्य नेता आफू भएको र प्रजातन्त्र र संविधानमाथि हमला हुँदा विद्रोह गरेको बताए। नेपालको हरेक परिवर्तनमा कम्युनिस्ट र लोकतन्त्र मिलेको स्मरण गरे।
२००७ सालदेखि नै देश बचाउन कम्युनिस्ट र लोकतन्त्रवादी दलबीच तालमेल हुँदै आएको उनको भनाइ छ ।
उनले भने, “गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो सङ्कल्प हो ।” राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले भने, “गठबन्धन नबनेको भए एकलौटी सरकार चलाउने आधारलाई भत्काउन सकिने अवस्था थिएन ।”
स्वाभिमानका पाठ कार्यकर्ता र जनतालाई सिकाएर राम्रो उद्देश्य तथा सपनालाई साकार पार्न गबन्धनका उम्मेदवार जित्नुपर्ने बताउँदै अध्यक्ष नेपालले लोकतन्त्र र संविधानलाई धराप पर्न नदिन गठबन्धन निर्वाचित हुनुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताए। उनले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूवउपसभापति बिमलेन्द्र निधिले संविधानको सही कार्यान्वयका निम्ति राजनीतिक दलबीच एकता र सहकार्य अपरिहार्य रहेको बताए।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले मधेसी, दलित, मुस्लिम, अल्पसंख्यक, आदिवासी जनजाति, पिछडिएका वर्ग लगायत आम नेपालीलाई सुखी बनाउने लक्ष्य पूरा गर्न गठबन्धनले जित्नु पर्ने आवश्यक्ता रहेको बताए । उनले मधेस मुद्दा सम्बोधन र नागरीकता समस्या समाधानको लागि तथा देशलाई अग्रगामी निकासको लागि गठबन्धनलाई जिताउन सबै जनसमुदायलाई आग्रह गरे ।