
काठमाडौँ। सत्तागठबन्धन नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्रमा संसद् विघटनलाई मुख्य मुद्दा बनाएको छ। केहीदिनमै सार्वजनिक गरिने घोषणापत्रमा नेकपा एमालेको सरकारले पटक–पटक संसद् विघटन गरेर संसदीय व्यवस्था नै मास्ने बाटोमा गएको आरोप लगाइएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ नेपाली कांग्रेसको संकल्पपत्र नाम दिइएको घोषणापत्रको पहिलो खण्डमा राजनीतिक मुद्दाबारे धारणा राख्दै कांग्रेसले एमालेप्रति आक्रोश व्यक्त गरेको छ।
त्यस्तै दोस्रो खण्डमा ५ वर्षको मार्गचित्र ‘समुन्नत नेपाल’ कसरी बनाउने भन्ने एजेन्डा समावेश भएको छ। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले पाँच वर्षभित्र समाजलाई अहिलेको भन्दा निकै राम्रो अवस्थामा पुर्याउने दाबी गर्दै अवधारणा अघि सारेको छ।
कांग्रेसले आफ्नै उत्पादनलाई प्रोत्साहन दिने ‘मेक इन नेपाल’को नारा अघि सारेको कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य शङ्कर तिवारीले बताए।
उनले भने, “नेपाली उद्योग नेपालमै रोजगार, आफ्नै उत्पादन आफ्नै व्यापार ‘मेक इन नेपाल’ जस्तै त्यसरी अघि बढ्ने कुरा पनि छ’’
सुशासन र सम्मुनतिसँगै आगामी पाँच वर्षभित्र भौतिक पूर्वाधार र आर्थिक विकासको अवधारणा पनि कांग्रेस घोषणापत्रमा परिकल्पना गरिएको नेताहरूले बताए।
अर्थशास्त्री स्वर्णिम वाग्ले र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेललगायतका विज्ञहरूले तयार पारेको घोषणापत्रमा ‘आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र’ समेटिएको सहमहामन्त्री जीवन परियारले बताए ।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो। महामन्त्री शर्माले घोषणापत्र लेखनमा नेपाली समाजको प्रतिनिधित्व झल्किने गरी विज्ञ समूह तयार गरेका थिए।
प्रारम्भिक मस्यौदा तयारीका लागि अर्थशास्त्री स्वर्णिम वाग्ले नेतृत्वको छ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो। समितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्ष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रीति मण्डल सदस्य थिए।