
महोत्तरी- भंगाहा नगरपालिका वडा नं. ८ मा छठ पर्वको अवसरमा आयोजित शोभा यात्राको सिलसिलामा भएको विवादमा छानविन गर्न गृह मन्त्रालय द्वारा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
शुक्रवार गृहमन्त्री स्तरको निणर्यबाट गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी वल, नेपालका सप्रनाम किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य रहेको ५ पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ ।
समितिलाई घटनाको सन्दर्भमा भएको क्षतिको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुसँग बुझी निष्पक्ष छानविन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्र मणि पोखरेलले जनाएको छ।
हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको शोभा तथा झन्डा यात्राको क्रममा महोत्तरीको भंगहा नगरपालिका-८ पररियामा बिहीबार हिन्दु र मुस्लिम समुदाय बीच झडप भएको थियो ।
झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि कार्तिक १० गते ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।
