
महोत्तरी(औरही) - महोत्तरीको भंगहा नगरपालिकाका व्यापारीहरु प्रहरीले अनाहकमा दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका छन् । उनीहरुले बिहीबार टायर बालेर सडक अवरुद्ध गर्दै भंगहा नगरपालिका ६ स्थित रहेको अस्थाई प्रहरी चौकी जमुनियाका असई सुरेश सहनी विरुद्ध नाराबाजी गरेका छन्।
प्रहरी सहायक निरिक्षक सहनीले भंगहा नगरपालिका वडा नम्बर–६ जमुनिया टोलमा कपडा पसल सञ्चालन गरेका राजा चौधरीको हजारौं मुल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको भन्दै स्थानीय व्यापारीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
‘असई सहनीले पैसाका लागि स्थानीय व्यापारीलाई दुःख दिने गरेका छन्’ चौधरीले भने, ‘बिलसहितको कपडा पनि पैसा नदिए पछि मेरो पसलबाट उनले अनाहकमा नियन्त्रणमा लिएका छन् ।’ आफूले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी समेत दिए ।
भंगहा नगरपालिकाका मेयर संजिव साहले व्यवसायीसँग बिल हुँदाहुँदै पनि प्रहरी सहायक निरिक्षक सहनीको व्यवहार गलत देखिएको प्रतिक्रिया दिए । उनले असई सहनीलाई कारबाही गराउने विषयमा व्यवसायीहरुसँग छलफल समेत गरेको बताए ।
यता, यस सम्बन्धमा असई सहनीले सो सामानहरु भन्सारबिनाको सामान रहेकोले आफूले जानकारी पाएलगत्तै नियन्त्रणमा लिई प्रहरी चौकी जमुनियामा राखेको बताए । उनले त्यहाँका स्थानीय व्यापारीहरु राजनीतिक उक्साहटमा लागेर आफूविरुद्ध खनिएर आन्दोलमा उत्रेको बताएका छन् ।