
जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा सम्पन्न गरेको छ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न प्रदेश निर्वाचन कार्यालयले शनिबार बिहानमात्र निर्देशन दिएको थियो । तर, निर्वाचन कार्यालयको निर्देशनलाई सो संस्थाले अटेर गरेको पाइएको छ ।
निर्वाचन कार्यालयको निर्देशनपश्चात पनि संस्थाको १५औं वार्षिक साधारणसभा भव्य कार्यक्रमकाबिच शनिवार दिउँसो सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रुमाकुमारी सिंहको अध्यक्षता तथा पूर्वअध्यक्ष रामसेबक महतोको प्रमुख आतिथ्यमा साधारणसभा मनाइएको छ ।
यसअघि, शनिबार बिहानमात्र प्रदेश निर्वाचन कार्यालयले सो संस्थाले महेन्द्र उच्च मावि ढल्केबरमा नर्ग लागेको साधारणसभा सम्बन्धमा मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रतिन्द्र डंगोललाई निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गराउन निर्देशन दिएको थियो ।

