
जनकपुरधाम- देशको एकमात्र जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा निर्धारित समय भन्दा अतिरिक्त(निर्धारित सिफ्टभन्दा बाहेक) समयमा समेत संचालन हुँदैछ ।
कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते अरिरिक्त रेल सेवा सञ्चालन गरिएको रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए।
प्रबन्ध झाले सूचना नै जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर-जनकपुरसम्म अतिरिक्त समयमा सेवा सञ्चालन हुने जानकारी दिए।
कार्तिक पूणर्िमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न स्थानबाट तथा भारतीय सहरबाट समेत तीर्थालु आउँदा सो तीन दिन यात्रुको चाप बढ्ने भएकोले रेल सेवा निर्धारित समय भन्दा अतिरिक्त समयमा समेत संचालन गरिएको प्रबन्ध सञ्चालक झाले बताए। “जतिबेला यात्रु आउँछन्, त्यतिबेला नै रेल चलाईहाल्छौँ”, उनले भने, “यात्रुको सुविधाकै लागि हामीले यस्तो निणर्य लिएका हौँ,”, उनको भनाई छ ।
जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर-कुर्था रेलमार्गमा रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । त्यसयता निर्धारित समयतालिकाअनुसार नै नियमित रेल चल्दै आएको प्रबन्ध सञ्चालक झाको भनाइ छ ।
लामो समय पछि रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढेको स्थानीयको विश्वास छ ।
रेल रोकेर यात्रु चढाउन र झार्नका लागि कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेशन छन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जीनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए।