
महोत्तरी — महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पूर्वमन्त्री पोखरेलसहित सत्ता गठबन्धनका उम्मेदवारले बुधबार साझारुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
पोखरेलले सार्वजनिक गरेका १० बुँदे प्रतिबद्धतापत्रमा अधुरा काम पूरा गर्ने, कृषिमा पुनर्जागरण गरी नागरिकको जीवनमा रुपान्तरण गर्ने, दिगो विकासको आधार तय गर्न सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार गर्ने, चुरे, वन र सार्वजनिक सम्पदा रक्षा गर्ने, युवालाई रोजगारी सिर्जना गर्ने, आधारभूत विकास, पूर्वाधार विकासमा बढावा दिने, दुर्व्यसनमुक्त समाज बनाउने, सम्मानसहितको सामाजिक सुरक्षाका लागि समाज रुपान्तरण गर्ने, आर्थिक विकासका लागि पर्यटन विकासमा जोड दिने र पर्यावरणीय सुरक्षामा प्रतिबद्ध भएर लाग्ने उल्लेख छ ।
प्रतिबद्धतालाई अक्षरस पालना गर्दै जनताका हरेक काम गर्न आफू तयार रहेको नेता पोखरेलले बताए । सबै पार्टीको छलफलबाट प्रतिबद्धता पत्र तयार पारिएको र उक्त प्रतिबद्धता पूरा गर्न सबै दल प्रतिबद्ध रहेको नेपाली कांग्रेसका नेता चिरञ्जीवी हमालले बताए । लोकतान्त्रिक समाजवादी पार्टीका सत्ता गठबन्धनअन्तर्गत प्रदेशसभा १ का उम्मेदवार पिताम्बर महत्तोले प्रतिबद्धतामा नपर्ने, आफ्नो काम कर्तव्य र अधिकारभित्र पर्ने हरेक काम गर्न प्रतिबद्ध रहेको बताए ।