
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र ३ का उम्मेदवार जुली महतो भोज भतेर गरी मतदाता रिझाउन थालेकी छन् । यसक्रममा उनले सोमबार जनकपुरधाम उपमहानगरपालिका देवपुरामा मतदातालाई प्रभावित गर्ने भोजको आयोजना गरेको देखिएको छ । नेकपा एमाले–जसपाका साझा उम्मेदवार रहेकी महतो जटही–जनकपुरधाम ६ लेन सडक खण्ड अन्तर्गत सडकमै भोजको आयोजना गरेकी थिइन ।
भोजका लागि सडककै छेउमा पण्डाल पनि सजाइएको थियो । पण्डालमा महतो र प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र यादवको ब्यानर पनि लगाइएको थियो । महतो र यादव चढ्ने सवारीसहित कयौं सवारी त्यही पार्किङ गरिएको थियो । सवारी र पण्डालमा एमाले–जसपाको झण्डा र चुनाव चिह्न अंकित सामग्रीहरु पनि राखिएको थियो । स्थानीयहरुले खाना खाएपछि महतोले उनीहरुसंग आफूलाई मत दिन अनुरोध गरेकी थिइन् ।
सोही दिन उनी सो गाउँको मुस्लिम टोलमा घर दैलो कार्यक्रम पनि गरेकी थिइन् । स्थानीयको अनुसार मासुको भोज गरिएको थियो । निर्वाचन आयोगले केही दिन अघि महतोलाई स्पष्टीकरण सोधेको थियो भने निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कयौं सवारी साधन नियन्त्रणमा पनि लिएको थियो ।