
मंसिर ४ को चुनावबारे फेसबुकले शुक्रबारबाट नेपाली प्रयोगकर्तालाई नोटिफिकेसन पठाउन थालेको छ । प्रयोगकर्तालाई सम्बोधन गर्दै फेसबुकले नेपालको संसदीय निर्वाचनसम्बन्धी जानकारी हेर्न र ती जानकारी सेयर गर्न लिंक पनि दिएको छ । जानकारी सेयर गर्नेहरूको संख्यासमेत उक्त नोटिफिकेसनमा देखापर्छ ।
हरेक प्रयोगकर्तालाई सम्बोधन गर्दै शुक्रबार बिहान मतपेटिकाको चित्रसहित ‘चुनाव हुने दिन मंसिर ४ हो…’ लेखिएको नोटिफिकेसन फेसबुकमा आएको थियो । त्यसको तल अङ्ग्रेजी भाषामा पनि निर्वाचनको मितिबारे जानकारी गराइएको थियो । निर्वाचनबारे जानकारी फैलाउने उद्देश्यले निर्वाचन आयोग र मेटा प्लाटफर्मबीचको सहकार्यमा उक्त नोटिफिकेसन आएको आयोगले जनाएको छ ।

नेपालको कुनै सार्वजनिक संस्था र सोसल मिडिया कम्पनीबीच पहिलो पटक सहयकार्य भएको हो । अमेरिकी कम्पनी मेटा प्लाटफर्मका प्रतिनिधिले केही दिनअघि ‘नेपाल इलेक्सन इन्टिग्रिटी समिट’ आयोजना गरी राजीतिक दल, सरकारी कर्मचारी, नागरिक समाजका प्रतिनिधि र पत्रकारहरूलाई मेटाका निर्वाचनसम्बन्धी नीति र अन्य टुलहरूबारे जानकारी दिएका थिए । नेपालको निर्वाचनलाई लक्षित गरेर सेप्टेम्बर ७ (भदौ २२) मा मेटाले ‘पोलिटिक एड ट्रान्सपरेन्सी टुल’ पनि सार्वजनिक गरेको थियो । यो टुलले फेसबुकमा विज्ञापन कसले र कहिले गरेको, कुन ठाउँबाट गरिएको र विज्ञापनमा कति पैसा खर्च गरिएको छ भन्नेबारे जानकारी दिन्छ ।
मेटाका प्लाटफर्म (फेसबुक, इन्स्टाग्राम, ह्वाट्एप) मा निर्वाचनसम्बन्धी कुनै मिथ्या सूचना वा द्वेषपूर्ण अभिव्यक्तिहरू पोस्ट भए त्यसबारे रिपोर्ट (उजुरी) गर्न मेटाका प्रतिनिधिले समिटमा आग्रह गरेका थिए । आयोगले निर्वाचनसम्बन्धी मिथ्या सूचनाहरू नियमन गर्न मेटालगायत सामाजिक सञ्जाल कम्पनीहरूसँग सहकार्य गरेको छ । योसँगै नेपालमा संवैधानिक निकायले पहिलो पटक औपचारिक रूपमै सामाजिक सञ्जालमा मिथ्या सूचना र दुष्प्रचारको समस्या सम्बोधन गर्न पहल सुरु गरेको हो ।