
♦ बिशाल बस्नेत
महोत्तरी - मधेश प्रदेशमा स्थानीय तह निर्वाचनमा टिकट वितरणमा असन्तुलन थियो भन्ने बिषयलाई कांग्रेसबाट बगी बनेका दुई जनाले प्रमाणित गरेका थिए । बर्दिबास नगरपालिकामा बागी उम्मेदवार प्रल्हादकुमार क्षेत्री र जनकपुर उपमहानगरपालिकाका बागी मनोज साह सुडी कांग्रेसकै साथले विजयी भएपछि नेतृत्वबाट टिकट वितरणमा भएको असन्तुलन प्रष्टिएको थियो ।
दुई जनामध्ये मनोज विनासर्त कांग्रेसमा नै फर्किए भने प्रल्हाद क्षेत्री फर्किएका छैनन् । क्षेत्रीलाई नजिकबाट सहयोग गरेका उनका साथीहरूको घेराबन्दीले स्वतन्त्र कै हैसियतमा रहन बाध्य रहेको चर्चा छ । अहिले उनै क्षेत्रीको आडमा महोत्तरी १ बाट पोषण थापा र प्रदेशसभामा युवराज पोखरेल मैदानमा छन् ।
प्रल्हादकुमार क्षेत्रीलाई जिताउन मुख्य भूमिका खेलेका थापा र पोखरेल अहिले आफै उम्मेदवार बनेका छन् । तर, टिकट वितरणमा नेतृत्वबाटै गलत भएको ठहर गर्दै क्षेत्री पक्षलाई साथ दिएका युवा कांग्रेस मै फर्कन थालेपछि स्वतन्त्र उम्मेदवारहरूमा खैलाबैला मच्चिएको छ । ‘हामी टिकट वितरण त्रुटि थियो भन्ने प्रमाणित गर्न क्षेत्री पक्षलाई साथ दिएका थियौ । तर, अब के को लागि स्वतन्त्रलाई सहयोग गर्ने रु’ नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष आशुतोष झाले प्रतिप्रश्न गरे ।
उनी भर्खरै कांग्रेसमा फर्किएर गठबन्धनलाई सहयोग गर्न चुनावी अभियानमा छन् । अध्यक्ष आशुतोष मात्र होइन क्षेत्रीलाई सहयोग गर्ने अन्य दुई दर्जन युवा स्वतन्त्र छाडेर कांग्रेस मै फर्किसकेका छन् । कोही कांग्रेसमा फर्कने त कोही एमाले प्रवेश गर्ने लहर चलेको छ ।
गत आइतबार मात्र नगर खेलकुद विकास समितिका अध्यक्ष दिपु भुजेल एमाले प्रवेश गरे । यसअघि क्षेत्रीका सहपाठी प्रकाश बस्नेत लगायतका युवा कांग्रेस मै फर्किसकेका छन् । जसको असर स्वतन्त्र भनिएका पोषण थापा, युवराज पोखरेल लगायतमा देखिँदै गएको छ ।
क्षेत्री कै कारण स्वतन्त्र भएका दुई दर्जन युवा बुधबार कांग्रेसमा फर्किएका छन् । कांग्रेस फर्कनेहरूमा भरत कुँवर, गणेशबहादुर कार्की, अम्बरबहादुर खड्का, दिलबहादुर कार्की, ईन्द्रबहादुर भण्डारी, मिनबहादुर कार्की, नरबहादुर कार्की, आले काइला, सन्जिव भण्डारी, सन्तोष भण्डारी, कुमार भण्डारी, ईन्द्रबहादुर भण्डारी, गोविन्द उपाध्यक्षलगायतका युवा फर्किएको कांग्रेस नेता विनोद बरालले जानकारी दिए ।
स्थानीय तहमा पाएको मतलाई टेकेर प्रतिनिधिसभा र प्रदेशसभा जित्न उत्साहित बनेका पोखरेल, थापाको रणनीतिमा लगाम लागेको स्थानीयहरू बताउँछन् । कांग्रेस नेता चिरञ्जीवी हमाल स्थानीय तहमा जेजस्तो भए पनि क्षेत्रीपक्षबाट छुट्टिएर आफ्नै घर आएकालाई न्यानो स्वागत गरिरहेको बताउँछन् ।
महोत्तरीमा कति छन् स्वतन्त्र ?
अहिले महोत्तरीका चारवटै क्षेत्रमा गरी ६७ जना उम्मेदवार प्रतिनिधिसभाको लागि चुनावी मैदानमा छन् । यसमध्ये धेरैजसो दलका उम्मेदवारभन्दा स्वतन्त्र बढी छन् । प्रतिनिधिसभाको लागि मात्र ३३ जना स्वतन्त्र उम्मेदवार छन् । कतिपय दलविरुद्ध बागी स्वतन्त्र हुन् भने कतिपय स्वतन्त्र उम्मेदवार छन् । यसमध्ये निर्वाचन आयोगबाट पास लिनको लागि पनि उम्मेदवारी दर्ता गराएको हुनसक्ने निर्वाचन अधिकृत सुबोधकुमार महतो बताउँछन् ।
प्रदेशसभामा पनि त्यतिकै उम्मेदवार छन् । जिल्लाका चार क्षेत्रमा ‘क’ र ‘ख’ गरेर आठ वटा प्रदेश क्षेत्र छन् । यी सबै क्षेत्रमा १६२ जना उम्मेदवार चुनावी मैदानमा छन् । १६२ जनामध्ये स्वतन्त्र नै अधिक रहेका छन् । प्रदेशमा १०२ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसमा पनि महिला सहभागिता निकै कम छ । प्रतिनिधिसभामा त महिलाको संख्या शून्य देखिएको छ । तर, दलमा भने पाँच जना महिला चुनावी मैदानमा देखिएका छन् ।