
महोत्तरी- मतदान पूर्वको स्थिर समय सुरु भएपछि उम्मेदवारले निर्वाचन प्रचारप्रसार रोकिएका छन् । दलका प्रतिनिधि र सबै उम्मेदवार आन्तरिक छलफलमा जुटेका देखिँदो छ ।
मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मंसीर १ गते मध्यरातदेखि खुला प्रचार अवधि सकिएर स्थिर समय सुरु भएपछि सबैको ध्यान मतदानमा पुगेको छ ।
जिल्लाका सबै क्षेत्रमा सुरक्षा गस्ती बढेको छ । आम मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्ला प्रशासन कार्यालय र सम्बद्ध सुरक्षा निकायले जानकारी दिएका छन् । “हामीले जिल्लाभरिका सबै मतदान केन्द्रको पटक पटक अनुगमन गरेर आवश्यक सुरक्षा प्रबन्ध सुदृढ गरेका छौँ”, जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले भन्नुभयो- “आम मतदातासँग ढुक्क भएर मतदान गर्न हाम्रो अपिल छ ।” जिल्लाका कुनै भेग, क्षेत्र वा बस्तीमा अवाञ्छित गतिविधि हुन नपाओस् भन्नेमा स्थानीय प्रशासन र सुरक्षा निकाय सचेत, सजग र सक्रिय रहेको उहाँको भनाइ छ ।
जिल्लामा सुरक्षा प्रबन्धका लागि करिब पाँच हजार सङ्ख्यामा सुरक्षा जनशक्ति परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लामा जम्मा दुई सय ५८ मतदानस्थल र चार सय ९९ मतदान केन्द्र छन् । सैनिक ब्यारेक र कारागारमा गरी दुई अस्थायी मतदान केन्द्रसहित मतदान केन्द्रको जम्मा सङ्ख्या पाँच सय एक रहेको छ ।
सबै ठाउँमा मतदान प्रयोजनका सामग्रीसहित मतदानकर्मी जनशक्ति पुगिसकेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिका यी मतदानकेन्द्रमा चार हजार पाँच जना कर्मचारी ९मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य आवश्यक जनशक्ति० परिचालित गरिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिनुभयो ।
मतदान केन्द्रको स्वयंसेवी सुरक्षा प्रबन्धका लागि अस्थायी प्रहरी (म्यादी प्रहरी) र अन्य आवश्यक सुरक्षा जनशक्ति प्रत्येक मतदान केन्द्रमा पुगिसकेका प्रजिअ पहाडीको भनाइ छ । निर्वाचन अवधिभरि तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ छन् । त्यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीले सुरक्षा व्यवस्था र थप संवेदनशीलताबारे सूक्ष्म निगरानी गरिरहेको जनाइएको छ ।
मतदानस्थलको संवेदनशीलतालाई मध्यनजर गर्दै थप सुरक्षा जनशक्ति परिचालित गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । “जिल्लाका मतदानस्थलमध्ये एक सय ४३ वटा अति संवेदनशील, एक सय १४ संवेदनशील र एक सामान्यका रुपमा वर्गीकरण गरिएको छ”, प्रजिअ पहाडीले भन्नुभयो, “कतै अप्रिय घटना नहोस् भन्नेतर्फ पूणर् सजगता अपनाइएको छ, संवेदनशीलता वर्गीकरण गरिएअनुसार त्यसको समुचित प्रबन्धमा जनशक्ति परिचालित छ ।” जिल्लाको भारतसँग सीमा जोडिएको करिब ३९ किलोमिटर दूरीभित्र नियमित सुरक्षा गस्ती भइरहेको पहाडीले जानकारी दिनुभयो ।
सीमा क्षेत्रबाट हुने दोहोरो आवतजावत गर्न स्थानीय प्रशासनले बिहीबार मध्यरातदेखि नै पूणर् रुपमा रोक लगाएको छ । सवारी साधनमात्र नभएर सीमाक्षेत्र वारपार गर्न पैदलयात्रीलाई पनि रोक लगाइएको प्रजिअ पहाडीले स्पष्ट पार्नुभयो ।
सीमाक्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न दुवै (नेपाल/भारत) तर्फ सीमासँग जोडिएका बस्तीमा सुरक्षा पोष्ट खडा गरिएका छन् । भारतीय सुरक्षा अधिकारी र प्रशासकसँग नियमित सम्पर्कमा रहिएकोे उनको भनाइ छ ।
मङ्सिर-४ गते बिहान सात बजेदेखि सुरु हुने मतदानको आवश्यक चाँजो र व्यवस्थापन पूरा भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन प्रयोजनको खुला प्रचार अवधि बिहीबार मध्यरातमै सकिएर अब स्थिर समय सुरु भएको हुँदा आचारसंहिताको पूर्ण पालनाका लागि सम्बद्ध सबैपक्षसँग पटक पटक अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् । दुवैतर्फ गरी दुई सय २९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । ती मध्ये क्षेत्र नं १ मा ५५ जना ९प्रतिनिधिसभा र प्रदेशसभासमेत०, क्षेत्र नं २ मा ५६ जना, क्षेत्र नं ३ मा ५९ जना र ४ मा पनि ५९ जना हुनुहुन्छ । यी सबै गरी स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक सय ३६ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा यसपटक तीन लाख ९७ हजार ३० मतदाता छन् । जसमा पुरुष दुई लाख १५ हजार एक हजार ३१, महिला एक लाख ८१ हजार आठ सय ९८ र अन्य ९तेस्रोलिङ्गी० एक जना रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै जानकारी दिइसकेको छ ।