
जनकपुरधाम। मंसिर ४ गते आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) बिहीबार राति १२ बजेपछि नै सुरु भइसकेको छ ।
बिहीबार राति १२ बजेपछि उम्मेदवार तथा उनका समर्थकले निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आचारंसहिता उल्लंघन गर्नेलाई २५ हजार जरिवाना गर्ने निर्णयसमेत आयोगले गरिसकेको छ । तर, आयोगको निर्णयविपरीत स्थिर समय (मौन अवधि)मा पनि उम्मेदवार, तिनका समर्थक, कार्यकर्तालगायत केही आमसञ्चार माध्यमहरुले पनि आचारसंहिताको उल्लंघन गर्दै बिहीबार राति १२ बजेपश्चात पनि सामाजिक सञ्जालमा राजनीतिक दल र उम्मेदवारको पक्षमा खुलेरै मत मागिरहेको देखिएको छ ।
केही उम्मेदवार र उनका समर्थक तथा नेता कार्यकर्ताहरु आफू आवद्ध रहेको दल तथा आफू समर्थित उम्मेदवारहरुका लागि सामाजिक सञ्जालमा खुलेरै मत मागिरहेका छन् ।

मधेस प्रदेशको बारा जिल्लामा त झन निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिताविपरीत उम्मेदवारहरूले घरदैलोसमेत गरेका छन् । बाराको क्षेत्र नम्बर–४ मा पर्ने परवानीपुर गाउँपालिका–३ लिपनीमालमा आचारसंहिताविपरीत घरदैलो कार्यक्रम भएको हो ।
सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन् । करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयले बताएका छन् ।

जबकि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था गरेको छ ।
सो व्यवस्था अनुसार मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ । सोही दफाको उपदफा ७ मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । आयोगले त्यही व्यवस्थाअनुसार आचासंहिताविपरीत गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको छ ।
बिहीबार राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन पनि आयोगले सर्वसाधारणलाई आह्वान गरेको छ ।
बिहीबार राती १२ बजेपछि कसैले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ विपरित निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा ७ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई निर्देशन दिएको छ ।
आयोगले बिहीबार राती १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई पनि निर्देशन दिने निर्णय भएको छ । मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न पनि आयोगको निर्देशन दिएको निर्वाचन अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ ।
यता, आमसञ्चार माध्यमको हकमा भने प्रेस काउन्सिल नेपालले पनि निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता पालनामा ध्यान दिन ध्यानाकर्षण गराएको छ । आचारसंहिता उल्लंघन गरे तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने काउन्सिलले जनाएको अवस्थामा पनि मौन अवधिमै केही सञ्चारमाध्यमहरुले पनि निर्वाचन आचारसंहिताको धज्जी उडाएको पाइएको छ ।












































स्रोत : टुडे आवाज