![](https://shirishnews.com/wp-content/uploads/2022/04/ck1_nIlvYeyAlt.jpg)
धनुषा- मधेस प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक देखिएको छ।
मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएपछि मधेश प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ ।
मधेश प्रदेशमा रहेको प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सिट मध्ये मधेश प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट ८ सिट थपेपछि २३ सिट प्राप्त गरेर पहिलो दल बनेको छ ।
यस्तै, प्रत्यक्षमा १३ सिट जितेको काँग्रेसले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएर ९ सिट जिते पनि प्रदेश सभामा २२ सिट सहित दोस्रो स्थानमा रहने भएको छ ।
२०७४ को निर्वाचनमा मधेशमा पहिलो दल बनेको जनता समाजवादी पार्टी नेपाल प्रदेश सभामा तेस्रो दल बनेको छ । सो पार्टीले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट जित्नमा सफल भएको छ ।
प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट हासिल गरी १३ सिट सहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रत्यक्षमा ७ र समानुपातिकमा २ सिट जितेर ९ सिट सहित पाँचौँ दल भएको भएको छ ।
मधेशमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार/चार गरी ८ सिट जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ ।
मधेश प्रदेशमा प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेका तीन दलले समानुपातिक तर्फ एक एक सिट जितेको छ । समानुपातिक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले १, नेपाल संघीय समाजवादी पार्टीले १ सिट र नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेको छ ।
मधेश प्रदेशमा सरकार बनाउनका लागि पाँच दलीय गठबन्धनलाई ५४ जनाको समर्थन आवश्यक भएको र त्यो जनमत पार्टी विना पुरा नहुने अवस्था रहेको हुँदा नेपाली काँग्रेस जनमतलाई सरकारमा ल्याउन प्रयासरत रहेको छ। पाँचदलीय गठबन्धनसँग ४५ जना पुगेपनि जनमत सहभागी हुँदा ५८ पुगेर बहुमतको सरकार बन्ने अवस्था रहेको छ ।
त्यसैगरी नेकपा एमाले र जनता समाजवादी पार्टीको ३९ अन्य ३ साना दल ३ र जनमत मिलेको खण्डमा मधेश प्रदेशमा नेकपा एमालेले पनि सरकार बनाउने गरि बहुमत पुग्ने अवस्था रहेको छ । सबै मिलेको खण्डमा ५५ सिट पुग्ने अवस्था रहेको छ । तर जसपाले एमाले संगको सहकार्य टुटेको घोषणा गरी सकेको अवस्था रहेको हुँदा सत्तागठबन्धनकै सरकार गठन हुने स्थिती रहेको छ।