महोत्तरी - “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान“ भन्ने अन्तर्राष्ट्रिय नारा सहित लैङ्गिक हिंसा मानव अधिकारको हनन् हो भन्ने नाराकासाथ चलिरहेको १६ दिने अभियानको मंसीर २४ गते अन्तिम दिन महोत्तरीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि समापन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना तथा इन्सेक, ओरेक, टिपीओ नेपाल, स्पर्श नेपाल, जिल्ला प्रहरी कार्यालय र युवा जिल्ला संजाल लगायत विभिन्न संघ संस्थाको समन्यमा मङ्सिर २४ गते ७४ औँ मानव अधिकार दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको हो ।
सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमा महोत्तरीका सहायक सिडिओ उपेन्द्र नेउपानेले मानव अधिकारप्रति प्रतिबद्ध रहेको र त्यसका लागि मानव अधिकारमैत्री काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।नेउपानेले विश्व मानव अधिकार दिवस तथा १६ दिवसीय लैङ्गिकतामा आधारित हिंसा विरूद्धको समापन कार्यक्रमको अवसरमा महिला हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्युनिकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनुभयो ।
महिला हिंसा, यौन हिंसा, बलातकार तथा घरेलु हिंसा लगायतका घटना छिटोछरितो तरिकाले कारवाही हुने गरि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका महिला तथा बालबालिका सेलका इन्चार्ज सई भरत ठाकुरले बताउनु भयो ।
महोत्तरीमा लैङ्गिकताको हिसावले घटनाहरूमा बृद्धि भएको देखिएकाले यसको न्युनिकरणका लागि ग्रामिण भेगको टोल टोलमा जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको इन्सेक महोत्तरी प्रतिनिधि अजय साहले बताउनु भयो ।
उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बारे जानकारी दिंदै भन्नुभयो, “हामी सबैको उदेश्य भनेको लैङ्गिक हिंसा लैङ्गिकताको आधारमा महिलालाई मात्र होइन महिला, पुरूष, यौनिक अल्पसंख्यक लगायतक कसैलाई पनि विभेद, हिंसा नहोस् भन्ने चाहाना हो।”उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन रहे पनि यो अभियान निरन्तर रुपमा वर्ष भरि चलिरहेको बताउनुभयो।
उहाँले लैङ्गिक हिंसा न्युनिकरणको लागि जनचेतना विस्तार गर्ने, लैङ्गिक हिंसा विरुद्धमा पुरुषहरुको सहकार्यलाई पनि अभिवृद्धि गर्ने, अभियानमा सबैको ऐक्यवद्धता र सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो ।थर्ड एलायन्सका अर्जुन साहले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गर्नुभयो ।
वोरेक नेपाल महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले महिला वस्तुको रुपमा प्रयोग गरिने चिज नभएको बताउँदै उहाँले यो समाज र राज्यले पनि हरेक मानिसलाई समानान्तर व्यवहार गर्नुपर्ने बताउनुभयो ।दियालीले जिल्लामा महिलाले आफु हिंसामा परेको कुरा बोल्नु पर्छ भन्ने ज्ञान शुन्य अवस्थामै रहेको बताउनुभयो। उहाँले महिलाहरुलाई सशक्तीकरण गर्नु पर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
प्रत्येक चार महिला मध्ये एक जनाभन्दा बढी लैंगिक हिंसाबाट प्रभावित
नेपालमा विगत १२ महिनाको अवधिमा शारीरिक, मानसिक वा यौन हिंसा पीडित महिलाहरुको तथ्याङ्कलाई हेर्दा, राष्ट्रिय स्तरमा १३.१ प्रतिशत रहेको छ।
त्यस्तै प्रदेश नं. १ मा ४.४, मधेश प्रदेशमा १७.४, बाग्मती प्रदेशमा ११.१८, गण्डकी प्रदेश ७.७, लुम्बिनी प्रदेशमा १३.३ प्रतिशत, कर्णाली प्रदेशमा ११.८८, र सुदुरपश्चिम प्रदेशमा ११.३८ प्रतिशत रहेको छ।
नेपाल प्रहरीको तथ्यांक अनुसार प्रत्येक चार महिला मध्ये एक जनाभन्दा बढी लैंगिक हिंसाबाट प्रभावित हुने गरेको देखिन्छ। सन् २०२१ जुलाईदेखि २०२२ को जुलाईसम्म मात्र २१ हजार ५ सय ६८ उजुरी परेको प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रका तथा न्यून आय भएका र औपचारिक शिक्षाबाट वञ्चित महिला तथा किशोरीहरु तुलनात्मक रुपमा बढी जोखिममा पर्ने गरेको देखिएको छ। कोभिड महामारीसँगै विभिन्न विपद्का कारण लैंगिक हिंसाका घटना बढिरहेका पाइएको छ।
शारीरिक, यौनजन्य, भावनात्मक, मनोवैज्ञानिक र आर्थिक लगायत किसिमले हुँदै आएको हिंसा पछिल्लो समय अनलाइन प्लाटफर्म मार्फत बढीरहेको प्रहरीले जनाएको छ। यस्तै, निजी तथा सार्वजनिक स्थानमा लैंगिक हिंसा हुने गरेको पाइएको छ।
अझ, महिला, किशोरी र यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरु आजीवन लैंगिक हिंसामा पर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा शारीरिक वा यौनजन्य हिंसाबाट पीडित तथा प्रभावित महिलाहरुमध्ये एक तिहाइ भन्दा
कमले मात्र उजुरी गर्ने वा त्यसका लागि सहयोग लिने गरेकाले लैंगिक हिंसाको वास्तविक अवस्था सार्वजनिक हुन सकेको छैन।
लैंगिक हिंसा भन्नाले कस्ता कस्ता हिंसा पर्दछन्
लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ। स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ।
साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ।
सिधै उजुरी गर्न सकिने सम्पर्क नम्बर
नेपाल प्रहरीको आपतकालीन नि:शुल्क नम्बर: १०० मा सिधै फोन गर्न सकिन्छ।
त्यसैगरी प्रहरी प्रधान कार्यालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयको फोन नम्बर: ०१-४४१४७४५ मा पनि सम्पर्क गर्न सकिन्छ।
राष्ट्रिय महिला आयोगको हटलाइन नि:शुल्क नम्बर: ११४५ सधै खुल्ला रहने नम्बर हो।
त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण शाखाको नम्बर: ९८४१६०७६६४ रहेको छ।