
जनकपुरधाम- मधेस प्रदेशसभाको आगामी कार्यकालका लागि १० वटा दलबाट समानुपातिक तर्फ ४३ जना सांसद छनोट भएका छन् ।
मधेस प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिने ४३ सांसदमध्ये मधेसी ५४.३६ प्रतिशत, दलित १७.२९ प्रतिशत, मुस्लिम ११.५८ प्रतिशत, जनजाति ६.६१ प्रतिशत र खसआर्य ४.८९ प्रतिशत समावेश गराउनु पर्ने हुन्छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २५.१७ र पिछडिएका क्षेत्रबाट २.११ प्रतिशत नाम समावेश हुनुपर्दछ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सांसदको सिफारिस सूचीमा मधेस प्रदेशबाट ३५ जना महिलाको नाम समेटिएको हो ।
मधेस प्रदेशमा कांग्रेसबाट ९, एमालेबाट ८, जनमत पार्टीबाट ७, जसपाबाट ७, माओवादी केन्द्रबाट ४, नेकपा एसबाट ३, लोसपाबाट २ र राप्रपा, नेपाल संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीबाट १/१ जना समानुपातिक सांसद बनेका छन् ।
कांग्रेसले मधेसी कोटाबाट कुमरकान्त झा (धनुषा), रेखा ठाकुर (महोत्तरी), जीवछीकुमारी यादव (सिरहा), इन्दुकुमारी साह (सर्लाही, अल्पसंख्यक), अञ्जना पण्डित (धनुषा, अल्पसंख्यक), दलित कोटाबाट सकुन्ती देवी महरा (सर्लाही) र नीलमकुमारी रजक (सप्तरी, अल्पसंख्यक), मुस्लिम कोटाबाट नुरुन नेसा (महोत्तरी) तथा जनजातिबाट मीनाकुमारी लामा (बारा) लाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।
नेकपा एमालेले मधेसी कोटाबाट जयचन्द्र प्रसाद पटेल (रौतहट), पल्टीदेवी यादव (धनुषा), फुलोकुमारी देवी (धनुषा), विनादेवी शर्मा (पर्सा, अल्पसंख्याक) र शिला यादव (धनुषा), दलित कोटाबाट पल्टीदेवी महरा (धनुषा), मुस्लिम कोटाबाट नाजिमा खातुन (धनुषा) र जनजातिबाट मञ्जुकुमारी थापा मगर (बारा) लाई समानुपातिक सांसद बनाउने भएको छ ।
त्यस्तै, जसपाले मनिषकुमार सुमन (मधेसी पुरुष अल्पसंख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभादेवी (मधेसी महिला, अल्पसंख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किरणकुमारी साह (मधेसी महिला) र ममता मण्डल (आदिवासी जनजाति महिला) रहेका छन् ।
जनमत पार्टीले पाएको समानुपातिक कोटाको ७ सिटमा मधेस प्रदेशसभामा मधेसी महिलाबाट बबिताकुमारी राउत इसर (सप्तरी) र अनिताकुमारी साह (महोत्तरी) लाई सांसद बनाउने भएको छ भने मधेसी पुरुषबाट चन्दन कुमार सिंह (महोत्तरी) र बसन्त कुमार कुशवाहा (रौतहट) सांसद बन्ने भएका छन् ।
त्यस्तै, दलितबाट रञ्जुकुमारी मण्डल खंग (सप्तरी), मुस्लिमबाट हसिना खातुन (सर्लाही) र जनजातिबाट भाग्यश्री कुमारी चौधरी (सिरहा) सांसद बन्ने भएका छन् ।
उता, नेकपा माओवादी केन्द्रले पाएको समानुपातिक कोटाको ४ सिटमा मधेसी महिला अल्पसंख्यकबाट माला कर्ण (सप्तरी) र सुनिता यादव (धनुषा) तथा दलित कोटाबाट शारदा पहाडी (धनुषा) तथा मुस्लिमबाट मो. रजी हैदर (महोत्तरी) सांसद बन्ने भएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले मधेसी कोटाबाट रत्नेश्वर गोइत यादव (धनुषा), अल्पसंख्यकबाट लक्ष्मी देवी (बारा) र किशोरी देवी (रौतहट) लाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ पाएको दुई सिटमा मधेसी महिलाबाट रुपाकुमारी यादव (महोत्तरी) र अल्पसंख्यकबाट रमिता प्रधान (महोत्तरी) लाई सांसद बनाउने निर्णय गरेको छ ।
राप्रपाले कञ्चन बिच्छा (महोत्तरी), नागरिक उन्मुक्ति पार्टीले रामचन्द्र चौधरी (रौतहट, मधेसी पुरुष) र नेपाल संघीय समाजवादी पार्टीले विमला अन्सारी तरुन्नुम (सर्लाही) लाई समानुपातिक सांसद बनाएको छ ।
मधेस प्रदेश सभाका कुल १०७ सदस्यमध्ये ३५ जना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरुले समानुपातिक प्रणालीबाट सोही संख्यामा महिलालाई नै छनोट गरेका छन् । यसअघि, मधेस प्रदेशमा प्रत्यक्षबाट चारजना महिला निर्वाचित भइसकेकी छन् ।
प्रदेशसभामा प्रत्यक्षतर्फ महोत्तरी १ (क) बाट नेकपा एमालेकी शारदा थापा, महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह, महोत्तरी ३ (ख) बाट लोसपाकी रानी कुमारी तिवारी र सर्लाही १ (ख) बाट नेकपा एसकी बेची लुंगेली निर्वाचित भएकी हुन् ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ सदस्य छानिन्छन् । जसमध्ये ३५ जना महिला सदस्य अनिवार्य हुन्छन् ।
मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमतले ६, नेकपा एस र माओवादीले ४/४ सिट जितेको छ भने ६ जना स्वतन्त्र निर्वाचित भएका छन् ।-टुडेआवाज