काठमाडौं । विश्वकप फुटबलको उपाधि अब छिनोफानो हुने क्रममा छ । ३२ राष्ट्रले सुरु गरेको यात्रा अन्तिम १६, ८, ४ हुँदै अब फाइनलमा पुग्दैछ । अर्जेन्टिना क्रोएसियालाई हराउँदै उपाधि नजिक पुगिसकेको छ । फ्रान्स र मोरक्कोमध्ये एक टोली अब फाइनलमा पुग्नेछ ।
उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोभ्स अर्थात सुनको पन्जा कसले जित्ला भन्ने अडकलबाजी समेत चलिरहेको छ । सेमिफाइनल पुगेका चारै टोलीका गोलकिपर ‘गोल्डेन ग्लोभ्स’ जित्ने दौडमा सामेल भएका छन् । सन् २०१८ को गोल्डेन ग्लोभ्स बेल्जियमका थिबाउ कोर्टुवाले जितेका थिए।
यसपटक गोल्डेन ग्लोभ्सका दाबेदार गोलकिपर को-को छन् र उनीहरुको प्रदर्शन कस्तो छ ? जानौं ।
डोमिनिक लिभाकोविच
क्रोएसियाका गोलरक्षक लिभाकोविचले नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गरे। उनले २ पटक आफ्नो टोलीलाई हारबाट बचाएका भए। सेमिफाइनलमा स्थान पक्का गर्नु अगाडी उनले ३ खेलमा ३ गोल मात्रै खाएका थिए ।
नकआउट चरणमा भएको पेनाल्टी शूटआउटमा जापानविरुद्ध १ गोल र ब्राजिलविरुद्ध २ गोल भने उनले रोक्न सकेनन् । कतार विश्वकपमा लिभाकोविचले ५ खेलमा १९ प्रहार बचाएका थिए । तर सेमिफाइनलमा भने अर्जेन्टिनासँग उनले ३ गोल खाए ।
टोलीलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपुर्ण योगदान गरेका कारण उनी गोल्डेन ग्लोभ्सको दाबेदारका रुपमा देखिएका छन् ।
एमी मार्टिनेज
अर्जेन्टिनाका गोलरक्षक एमी मार्टिनेज गोल्डेन ग्लोभ्सको मुख्य दाबेदारका रुपमा अगाडी आएका छन् । अर्जेन्टिनाका समर्थक लिओनेल मेस्सीको कप्तानीमा टोलीले उपाधि जित्ने आशामा छन्। मेस्सीलाई उपाधिको नजिक पुर्याउन अन्य खेलाडीसँगै एमी मार्टिनेजको पनि मुख्य योगदान छ ।
समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको थियो । तर, यसपश्चात दुवै खेलमा मार्टिनेजको प्रदर्शन उच्चस्तरको थियो । त्यसयताका खेलमा अर्जेन्टिनाले कुनै गोल नखाए अन्तिम १६ मा स्थान पक्का गर्यो।
प्रि क्वाटरफाइनलमा अष्ट्रेलियाविरुद्धको खेलमा एक गोल खाएका मार्टिनेजले क्वाटरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । उनले पेनाल्टी शूटआउटमा २ प्रहार बचाउँदै अर्जेन्टिनालाई सेमिफाइनल पुर्याएका थिए । सेमिफाइनलमा पनि उनले गोल खाएनन् ।
ह्युगो लोरिस
गोलरक्षक ह्युगो लोरिसको क्षमताले फ्रान्सको मनोबल उच्च भएको छ । ३५ वर्षीय लोरिसले फ्रान्सका लागि अहिलेसम्म १४३ खेल खेलिसकेका छन् । यो फ्रान्सको लागि कुनै पनि खेलाडीको सर्वाधिक खेल हो ।
साविक विजेता फ्रान्सलाई कतार विश्वकपमा अहिलेसम्म लोरिसले महत्वपुर्ण योगदान पुर्याउँदै आएका छन्। उनले यो विश्वकपमा अहिलेसम्म ४ गोल मात्रै खाएका छन् । करिब एक दर्जन कडा प्रहार उनले बचाएका छन् ।
त्यसैले लोरिस पनि यो विश्वकपमा उत्कृष्ट गोल किपरको मुख्य दाबेदारमध्ये एक हुन् ।
यासिन बोनु
मोरक्कोका योसिन बोनुले टिमलाई सेमिफाइनलसम्म पुर्याउन धेरै नै योगदान गरेका छन् । कतार विश्वकपमा अहिलेसम्म सबैभन्दा कम गोल खाने टोली मोरक्को हो । उसले जम्मा १ गोल मात्रै खाएको छ ।
त्यो पनि समूह चरणमा क्यानाडासँग आत्मघाति गोल । यसअर्थमा ठुला र बलिया भनिएका टिमले मोरक्कोविरुद्ध गोल गर्न सकेका छैनन् । यसको मुख्य श्रेय गोलकिपर बोनुलाई जान्छ ।
उनको उत्कृष्ट प्रदर्शनमा नै मोरक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । बोनुले विपक्षीका कम्तिमा ६ वटा कडा प्रहार बचाइसकेका छन् ।
सेमिफाइनलमा फ्रान्सविरुद्ध जित निकाल्न सके बोनु ने उत्कृष्ट गोलकिपर हुने निश्चित छ । सेमिफाइनलबाट बाहिरिएमा पनि गोल्डेन ग्लोभ्सका लागि उनी दाबेदार भने बनिसकेका छन् ।