दिवेश कुमार महतो
धनुषा- जनकपुरधाम मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयमा स्थानीय सरोकारवाला निकायहरु सँगको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ब्लु डायमण्ड सोसाइटी नेपालको आयोजना तथा सेभ द चिल्ड्रेन र सुनौलो बिहानी समाज धनुषाको सहकार्यमा जनकपुरधाम स्थित रोयल मिथिला फुड प्यालेस मा एकदिने अन्तरक्रिया कार्यक्रम भएको छ। ब्लु डायमण्ड सोसाइटी का अध्यक्ष पिंकी गुरुङले कार्यक्रम मा स्वागत मन्तव्य राख्नु भएको थियो। उनका अनुसार स्थानीय सरकार देखि केन्द्रीय सरकार को सरोकारवाला निकायहरु मा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सहभागीता एकदमै न्युन मात्रामा रहेको बताउनुभयो। ब्लु डायमण्ड सोसाइटीले सुरुवाती चरण देखि वर्तमान समयसम्म के-कस्तो काम गरेको छ र कहाँ -कहाँ कस्तो समस्या बाट गुज्रिनु परेको अवस्था सहित विधमान अवस्था बारे जानकारी गराउनुभयो।
नेपालमा रहेको राजनितिक दलहरुले पनि आफ्नो घोषणा पत्र र पार्टीको विधानमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक को सहभागिता बारे उल्लेख नभएको कारण हामीहरुको अधिकार संविधानमा उल्लेख भएतापनि कार्यन्वयन नभएको र यौनिक तथा लैङ्गिक अल्पसंख्यक को तथ्याङ्क नभएको कारणले पनि यी सबै निकायहरुमा अर्थपूर्ण सहभागिता मा समस्या रहेको कुरा ब्लु डायमण्ड सोसाइटीका कार्यक्रम निर्देशक सञ्जय शर्माले जिकिर गर्नुभयो ।
यता नेपाल सरकारले लैङ्गिक पहिचानसहितको नागरिकताको अधिकार सुनिश्चित गरेको छ। धारा १८ले समानताको अधिकार सुनिश्चित गरेको छ। धारा ४२ले समाजिक न्यायको हक अन्तर्गत समावेशी साथै समानुपातिक प्रतिनिधित्वको अधिकार पनि सुनिश्चित गरेको छ। यसले नेपाललाई एशियामा एकमात्र देश र प्रत्याभूत गर्ने थोरै देशमध्ये एक देशको रुपमा गर्वको साथ पहिचान बनाएको छ। तथापि यसको कार्यान्वयन पक्ष फितलो रहेको कुरा उपस्थिति जानकारहरु बताउँछन्।
कार्यक्रममा ब्लू डायमण्ड सोसाइटीका प्रतिनिधिहरु, सुनौलो बिहानी समाजका कोषाध्यक्ष नगामा खान, संथापक अध्यक्ष प्रदिप यादव , इन्सेक मधेस प्रदेश कार्यलय संयोजक राजु पासवान, ओरेक प्रतिनिधि, सुरक्षा बलका प्रतिनिधि सहित अधिकार र पहिचानको क्षेत्रमा काम गर्ने प्रतिनिधिहरुको उपस्थिति रहेको कुरा कार्यक्रम संयोजक सत्यनारायण साहले बताउनुभयो।