जनकपुरधाम । मधेश प्रदेशमा प्रत्येक वर्ष १२ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भइरहेको छ । नेपालमा उत्पादन हुने कुल संख्याको करिब ३० प्रतिशत धान मधेशमै उत्पादन हुन्छ । तर सरकारले मधेश प्रदेशमा मात्रै ५२ हजार क्विन्टल धान खरिद गर्ने गरेका छन् । बाँकी धान किसानले सस्तोमा व्यपारीसँग बिक्री गर्ने गरेका छन् ।
हर्दिनाथ धान बाली अनुसन्धान केन्द्रका निर्देशक डा.रामवरण यादवले गत वर्ष १२ लाख ७५ हजार पाँच सय ५५ मेट्रिक टन धान मधेशमा उत्पादन भएको बताए । यसपालि पनि सोही हराहारीमा उत्पादन भएको उनको भनाइ छ । तर सरकारले धान खरिदको जिम्मेवारी दिएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिदमा आनाकानी गरेको देखिन्छ । देशमा करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । जसमध्ये १२ लाख ७५ हजार मेट्रिक टन धान मधेशमा उत्पादन हुने गरेको डा. यादवले जानकारी दिए ।
धान खरिद गर्नका लागि मधेश प्रदेशमा तीन वटा संस्था राखिएको छ । लहान, वीरगञ्ज र जनकपुरधाममा राखिएको यी तीनै संस्थाले ५२ हजार क्विन्टल धान खरिद गर्ने गरेका छन् । लहान र वीरगञ्जले १७÷१७ हजार क्विन्टल र जनकपुरधामको कार्यालयले १८ हजार क्विन्टल खरिद गर्ने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बुले जानकारी दिए । सरकारले खरिद गरेका धानलाई चामल बनाई कारागार तथा सरकारी संस्थाहरुमा पठाउने गरेको छ ।
‘कार्यान्वयनमा जोड दिनुपर्छ’
प्रदेश नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झाले कम मात्रामा धान खरिद हुनुमा नीति कार्यान्वयनमा प्रश्न उठाएका छन् । सरकारले खरिद गरेको धान निर्यात नहुनु र देशमै खपत गर्ने कानून अभाव रहेको उनले बताए । ‘सप्लाई सिस्टम मजबुत बनाउनु पर्छ । त्यसको लागि सरकारसँग पनि स्रोतसाधन अभाव छ,’उनले भने,‘सबै भन्दा बढी भएको नीति निर्माण कार्यान्वयन पक्ष कमजोर छ । यसलाई बलियो बनाउनुपर्छ ।’ उत्पादन भएको सबै धान सरकारले खरिद गर्नसक्ने सरकारको सामर्थ पनि नरहेको उनले बताए ।
उनका अनुसार देश आर्थिक संकटमै रहेको हुनाले उत्पादित सबै धान खरिद गर्न सक्दैनन् । तर सरकारले किसानको उचित मूल्य दिनलाई निजी संस्थालाई पत्राचार गर्न सक्छन् । नियम बनाउनु र लागु गराउन सक्छन् । सरकारले समर्थन मूल्य तोक्न पनि ढिलाइ गरेको कारण लक्ष्य अनुसार धान सरकारले खरिद गर्न नसकेको उनले बताए । ‘निजी संस्थाले खरिद गर्ने विषयमा संस्थागत व्यवस्था भए हुनुपर्छ,’उनले भने,‘सरकारले राम्रो गर्ने प्रयास गरेका छन् । तर विभिन्न कारणले त्यो कार्यान्वयन नभएको देखिन्छ ।’
किन उत्पादन कम हुन्छ ?
डा. यादवका अनुसार धानखेतमा भइरहेको विषादी प्रयोगले पनि उत्पादन कम हुने गरेको छ । ‘लामो समय खडेरी भएपछि धानखेतमा घाँस बढ्न थाल्छ,’ उनले भने, ‘घाँस हातले हटाउनुको साटो किसानले विषादी प्रयोग गर्छन् । र, विषादी प्रयोगले उत्पादकत्वमा कमी आउँछ ।’ मुख्यतः रासायनिक मलको अभाव, अनियमित सिँचाइ, रोगकीराको प्रकोप लगायतका कारण उत्पादकत्व घट्ने गरेको उनले प्रष्ट गरे ।
तर, पछिल्लो समय अत्याधिक विषादी प्रयोगले उत्पादनमा कमी आएको उनको भनाइ छ । अत्याधिक विषादीको प्रयोगले माटोमा अम्लीयपन बढेपछि उत्पादकत्वमा ह्रास आउँछ । मधेशमा कुल खेती योग्य जमिनको करिव ३० प्रतिशतमा मात्रै सिँचाइ रहेको र बाँकी जमिनमा आकासे वर्षाको भरमा खेती हुने गरेको उनले बताए ।
तर सरकारले ७० प्रतिशतमा सिँचाइ गरिएको झुटो दाबी गर्ने गरेको उनले बताए । मुख्यतः पानी, मल अभावमा उत्पादनमा प्रत्येक वर्ष कमी आएको छ । यस वर्ष गत वर्षभन्दा उत्पादन करिब दश प्रतिशतले कमी हुने उनको अनुमान छ । ‘धानलाई रासायनिक मल आवश्यक पर्छ ।
तर, उचित मात्रामा प्रयोग भइरहेको पाइएन,’ उनले भने, ‘ किसानले खेतमा आवश्यकताभन्दा बढी मलखाद प्रयोग गरिरहेको छ,’ उनले भने, ‘जसले बालीलाई तत्काललाई फाइदा गरेको देखिए पनि दीर्घकालमा ठूलो असर गर्छ ।’ एक कठ्ठा धानखेतमा ६ किलो युरिया र १ किलो पोटास छर्नुपर्नेमा धान चाँडै बढ्ने र बाला लाग्ने लोभमा किसानले मलको दोब्बर प्रयोग गर्दा उत्पादन कम हुने गरेको उनको विश्लेषण छ । यस्तै एकै जातको धानबाली निरन्तर लगाउने, खडेरी, बाढीको डुबान र बाला लाग्ने बेला सिँचाइ अभावले पनि धानको उत्पादन घट्ने गरेको उनले बताए ।
धनुषा प्रदेशकै अब्बल
मधेश प्रदेशको सबैभन्दा बढी धान उत्पादन धनुषामा हुँदै आएको छ । गत वर्ष धनुषामा प्रतिहेक्टर ४ मेट्रिक टन धान उत्पादन भएको थियो । गतवर्ष चैते र असारे गरी जिल्लामा करीब ६५ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । यस्तै करीब ६३ हजार १ सय हेक्टर क्षेत्रफलमा असारे धानखेती गरिएकोमा गतवर्ष २ लाख ५१ हजार टन धान उत्पादन भएको थियो । ‘अन्य जिल्लाको तुलनामा धनुषामा सिँचाइको उपलब्धता पनि बढी छ ।
धानखेतीका लागि उर्वर भूमि पनि छ,’ यादवले भने, ‘सीमा नाकासँग जोडिएको हुनाले जिल्लामा मल अभाव हुने वित्तिकै भारतबाट ल्याएर किसानले समयमै मल छर्छन् ।’ धनुषामा कमला, नक्टाझिज र सिर्सिया गरी तीनओटा सिँचाइ आयोजना सञ्चालनमा छन् । अन्य जिल्लामा प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन भए पनि धनुषामा भने कम्तीमा ३ दशमलव ७ मेट्रिक टन उत्पादन हुन्छ ।