काठमाडौं । अन्तर्राष्ट्रिय कुख्यात अपराधी फ्रान्सेली नागरिकलाई आज शुक्रबार सरकारले उनकै देश पठाउँदैछ । सर्वोच्च अदालतको आदेशपछि उनि हिजो विहीबार नै जेलबाट छुटेका छन् । हिजो नै उनलाई फ्रान्स पठाउने तयारी भएपनि टिकट,भिसा लगायतका कारण पाहुनाको रुपमा केन्द्रीय जेलमै बसेका थिए ।
उनी कुख्यात अन्तर्राष्ट्रिय अपराधि भएकाले अब नेपाल आउन नदिने सरकारको तयारी छ । अध्यागमन विभागले अब शोभराजलाई नेपाल आउन नदिने तयारी भएको जानकारी दिएको छ । नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउने कानुनी व्यवस्था छ, त्यसमा टेकेर निर्णय हुने सम्भावना रहेको विभागले जनाएका छ।



सर्वोच्च अदालतले गएको बुधबार फैसलामार्फत शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको थियो ।
शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा उनलाई सन् २००३ मा पक्राउ गरिएको थियो । त्यसअघि शोभराजले भारतका जेलमा करिब २१ वर्ष बिताएका थिए ।




